व्यापारी पलायन हुने स्थितिमा

गङ्गा पराजुली/पशुपतिनगर । चार दशकभन्दा लामो समयदेखि इलामको सूर्योदय नगरपालिका–२ स्थित नेपाल–भारत सीमा बजारका रुपमा रहेको पशुपतिनगरमा पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई अहिले विस्थापित हुने चिन्ताले सताएको छ ।

कोरोना महामारीका कारण आठ महिनादेखि भारतीय पर्यटक नेपाल आउन नपाउँदा प्रेमनाथलाई विस्थापित हुने चिन्ताले सताएको हो । अघिल्ला वर्ष बाह्रै महिना पशुपतिनगर बजारमा भारतीय पर्यटक किनमेलका लागि आउने गरेका थिए तर दशैमा समेत व्यपार हुन सकेन ।

चीनबाट आउने लत्ताकपडा, फेन्सी, जुत्तालगायत सामाग्रीहरु खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलिगुडी आदि स्थानबाट व्यापारीहरु आउने गरेका थिए तर अहिले भारतीय बजारमा सोझै यस्ता सामाग्री पाउन थालेपछि पनि पशुपतिनगर बजार सुक्दै गएको हो । यहाँ स्थानीय बाहेक करीब तीन सय व्यापारी रहेका छन् ।

footwear zone

स्थानीय व्यवसायी पाण्डे गुनासो गर्दै भन्छन्, ‘दिनभरी ग्राहक कुरेर बस्यो कुनै कुनै दिन त सुको पनि व्यापार हुँदैन ।’ यहाँ फेन्सी र फोरियन गुड्सको बढी बिक्री हुँदै आएको थियो ।

बन्दाबन्दी खुलेपछि पनि यहाँका पसलमा अझै ताला झुन्डिएको देख्न सकिन्छ र बजार सुनसान देखिन्छ । पसलभित्रका सामानमा ढुसी पर्न थालिसकेका छन् । व्यापारीलाई घरभाडा तिर्न पनि धौ धौ परेको व्यावसायी शेषलाल यादवले बताए । उनले वार्षिक रु दुई लाखभन्द बढी रकम भाडा तिर्नुपर्ने गुनासो गर्दै यस्तै स्थिति रहेमा पसल बन्द गर्नुपर्ने अवस्था आउने जनाए ।

सूर्योदय नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले कोरोना जोखिम शुरु हुनुअघि नै गत एक दशकमा झन्डै तीन सय व्यापारी बजार छाडेर गइसकेका छन् ।

स्थानीय सरकारले पसल खोल्नका लागि अवरोध नगरे पनि व्यापार व्यवसाय चौपट भएका कारण पशुपतिनगर बजार अहिले संकटमा परेको सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष चन्द्रकुमार सुब्बा बताए । उनले भने, ‘हामीले त व्यापारीलाई पसल खोल्न भनेकै छौ । व्यापार व्यवसाय नै नहुने भएपछि धेरैले खोल्न सकेका छैनन् ।’

You might also like

Comments are closed.