कावासोती । छियासी वर्षीया टिकामाया चन्द ठकुरी हातमा लौरो समाती बैंकको सिँढीमा बसेकी छन् । बिहान चार बजेदेखि उनी सिँढीमा बसेकी हुन् । उनी बसेको घरको दोश्रो तलामा मेगा बैंकको कार्यालय छ ।
बिहानीको समयमा चिसोको आभास हुन थालेको छ । तर उनलाई कुनै प्रवाह छैन् । सिमेन्टको भूईमा बसेर उनी बैंक खुल्ने प्रतिक्षामा रहेकी छन् । सामाजिक सुरक्षा भत्ता बुझ्न उनी बिहानै चार बजे बैंक परिसरमा आएकी हुन् । कावासोती नगरपालिका–१ कोइलापानीदेखि झण्डै ७ किलोमिटर पैदल हिडेर आएकी उनलाई बैंक चाँडै खुलेर भत्ता बुझ्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
उनीजस्तै ६२ वर्षीया फुलकुमारी सुनारसमेत बिहान चार बजेदेखि बैंक खुल्ने प्रतिक्षामा छन् । ‘दश बजे आए पालो आउँदैन, पैसा पनि पाइँदैन, त्यसैले बिहानै आएकी हुँ,’ उनले भनिन् । उनीसँगै अन्य ज्येष्ठ नागरिक समेत बिहानै चार बजेदेखि बैंक खुल्ने प्रतिक्षामा रहेकी छन् ।

कोभिड–१९ को जोखिम हुन सक्ने भन्दै बैंकले दैनिक ३० जनालाई मात्र कुपन प्रदान गर्दै आएको छ । एक दिनमा ३० जनाको मात्रै पालो आउने भएपछि यहाँका ज्येष्ठ नागरिकहरु बिहानैदेखि कुपनका लागि बैंकको ढोकामा लाइन बस्ने गरेका छन् ।
बिहान ६ बजे तीस वटा कुपन बितरण गरिसकेको बैंकका सुरक्षाकर्मीले बताए । अब आउनेले कुपन नपाउने उनको भनाइ छ । तर कुपन नपाएपनि भत्ताको पैसा निकाल्न पाइन्छ कि भनेर केही ज्येष्ठ नागरिक लाइनमै बसेका देखिन्छ ।
कावासोती नगरपालिका–१ का वडाध्यक्ष नारायण पन्तले बैंकले जिम्मेवारीपूर्वक कार्य नगर्दा समस्या भएको बताए । ‘बैंकले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने थियो, तर कुनै प्रतिक्रिया दिदैनन्,’ उनले भने । कावासोती–१ मा करिब ६ जनाले सामाजिक सुरक्षा भत्ता पाउने सूचिमा छन् ।
बैंकले उपयुक्त व्यवस्थापन नगरिदिँदा भीडमा ज्येष्ठ नागरिक थप संक्रमण जोखिममा रहेको उनको भनाइ छ । सामाजिक सूरक्षा भत्ता बितरणको व्यवस्था बैंकबाट भएकाले कोरोना संक्रमण जोखिमको यो समयमा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिनुपर्ने वडाध्यक्ष पन्तले बताए ।
कावासोती नगरपालिका–२ का वडाध्यक्ष लक्ष्मीप्रसाद पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता दशैंअघि नै बैंकमा पठाइसकेको बताए । अशक्त र ज्येष्ठ नागरिकको संरक्षक कायम गरी सिफारिसका आधारमा लिन सक्ने बनाउँदा समस्या नआउने उनको भनाइ छ । बैंकहरुले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने सुझाव उनको छ ।




Comments are closed.