पोखरा । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं. ६ चन्द्रकोटस्थित श्री संगम माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकलाई खेलकुद पोशाक (ट्रयाकसुट र टिसर्ट) वितरण गरिएको छ । गत वर्षको एस.ई.ई. परीक्षामा सर्वोकृष्ट अंक हासिल गर्न सफल दुईजना विद्यार्थीहरुलाई स्व. धीर बहादुर गुरुङ स्मृति अक्षयकोषबाट जेहेन्दार छात्रवृत्ति समेत वितरण गरिएको छ । छात्रवृत्ति पाउनेहरुमा अन्नूर्णण–६, लुम्लेका अञ्जु देवकोटा र अन्नपूर्ण–७, ह्वाँडीका सीता भण्डारी छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रति विद्यार्थी राज्यको लगानी दशौं गुणा बढी लगानी रहेको भएपनि सो अनुरुप ग्रामीण भेकका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अविभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथि एवम् अन्नपूर्ण गाउँपालिका शिक्षा इकाई प्रमुख बलराम भुगाईंले विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा शिक्षकहरुको ठूलो भूमिका हुने भएकाले शिक्षकहरु थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति एवम् मञ्चका अध्यक्ष नविन गुरुङले पोशाक सौजन्यकर्ताहरुको साथै छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने भू.पू. जि.पं.स. स्व. धीर बहादुर गुरुङको परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै विगतमा जस्तै आगामी दिनमा पनि मञ्चले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने लक्ष्य राखेको बताए ।
पूर्व विद्यार्थी मञ्चका सचिव लक्ष्मी नारायण देवकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका कार्यसमिति सदस्य एवम् अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष चित्र बहादुर गुरुङले धन्यवाद मन्तव्य राखेका थिए ।
पूर्व विद्यार्थी मञ्चका आजीवन सदस्यहरु श्री संगम मा.वि. चन्द्रकोटले संयोजन गरेको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थीहरु अन्नपूर्ण–७, तान्चोक घर भई हाल युके निवासी चन्द्रमान गुरुङ र अम्बले गुरुङ, अन्नपूर्ण–७, ह्वाँडी घर भई हाल फिलिपिन्समा कार्यरत शंकरमान गुरुङ र अन्नपूर्ण–७, तोमिजुङ निवासी आश बहादुर गुरुङले पोशाक सौजन्य गरेका थिए । आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई सहयोग गर्न पाएकोमा आश बहादुर गुरुङले खुसी व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जइ बहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक टेकनाथ पोखरेलले टिसर्ट र ट्रयाकसुट सहयोगको लागि पूर्व विद्यार्थी मञ्च संगम मा.वि. चन्द्रकोट र सहयोगदाताहरुलाई विद्यार्थीहरु र विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरे ।




Comments are closed.