टीकापुर । कैलालीको टीकापुर–१ बनगाउँका सीताराम चौधरीले फूलखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।
तीन वर्षअघि जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा फूलखेती गरेका चौधरीले फूलको बिक्रीबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । सयपत्री फूलको खेती गरेका उनले दुई सिजनमा फूल बिक्री गर्छन् । ‘‘दुई लटमा बिक्री गर्छु, साउन, भदौमा रोपेको फूल तिहारको समयमा बिक्री हुन्छ भने फागुनमा रोपेको फूल चैतबाट बिक्री गर्न थालिन्छ’’, उनले भने, ‘‘यो सयम तिहारलाई मात्र लक्षित हुन्छ । यो समयभन्दा चैतमा उत्पादन भएको फूलबाट बढी आम्दानी हुन्छ । त्यतिखेर फूलको बढी मूल्य पाइन्छ ।’’
सीतारामको पूmलबारीमा घरका ५ जना सदस्य र अन्य १२ जना कामदारले रोजगार पाएका छन् । ‘‘पूmलबारीमा सबै महिला कामदार छन् । फूल रोप्ने, गोडमेल गर्ने, मल हाल्ने र यतिखेर पूmल टिप्ने, माला उन्ने र प्याकिङ गर्ने सबै काम उनीहरुले नै गर्छन्’’, उनले भने, ‘‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले बजार पाउँदैन की भन्ने चिन्ता थियो, तर अहिले माग धान्नै मुश्किल भएको छ ।’’

भाइटीका अर्थात तिहार नजिकिएपछि चौधरीको फूलबारीमा फूलका माला बनाउने काम भइरहेको छ । बारीबाटै प्रतिकिलो चार सय रुपैयाँ र बुनेको प्रतिमाला एक सय रुपैयाँका दरले बिक्री भइरहेको उनको भनाइ छ । “तिहार नजिकिएकाले फूल प्याकिङ गरेर पठाउने काम भइरहेको छ”, उनले भने, ‘‘प्याकिङ गरेर पठाएको फूल १० दिनसम्म राख्न सकिन्छ । ’’ तिहारलाई लक्षित गरेर विभिन्न जिल्लामा फूल र माला पठाउन थालिसकेको उनले बताए ।
यो वर्ष आठ कठ्ठा जग्गामा फूलखेती गरेका चौधरीले फूलखेतीका लागि आवश्यक पर्ने बीउ भारतबाट मगाउने गरेको बताए । अर्डर गरेमा भारतबाट टीकापुरमै बीउ आइपुग्छ, उनले भने । यहाँ उत्पादन भएको फूल जिल्ला मात्र नभइ, बर्दिया, बाँके र दाङसम्म जान्छ । यसपटक बझाङ जिल्लाबाट पनि माग आएको उनको भनाइ छ ।
सीतारामले पुष्पखेती शुरु गरेपछि हरेक कार्यक्रम वा सभासमारोहमा प्लाष्टिकका माला प्रयोग घटेको छ । ‘‘अतिथिलाई स्वागत पनि फूलका मालाले गर्न थालिएको छ’’, स्थानीयवासी छपिलाल चौधरीले भने, ‘‘टीकापुर, जानकी, जोशीपुरलगायत स्थानीय सरकारले पनि खादाको सट्टा माला प्रयोग गर्न थालेका छन् ।’’
टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदी यस्तो खालको व्यवसायलाई स्थानीय सरकारले सघाउन नसकेको बताउँदै नयाँ खालको व्यवसाय गर्नेलाई सघाउने नीति भने लिएको बताए ।




Comments are closed.