अत्यावश्यकबाहेक पोखरा महानगरको सेवा एक साता स्थगित

कास्की । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यकबाहेकका सेवा एक साता स्थगन गरेको छ । महानगरपालिकाले शुक्रबार सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरेको जनाएको छ ।

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ । महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७÷२८ कर्मचारी कोभिड–१९ संक्रमण भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए ।

उनले भने, “उपप्रमुख आफैं सङ्क्रमित हुनुहुन्छ, प्रमुखको सचिवालयलगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।” महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरीबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

footwear zone

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.