पोखरा ।कास्कीको मादी गाउँपालिका वडा नं ६ तप्राङका ज्येष्ठ नागरिक तथा विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको छ ।
पोखरा खरिकुना घर भई हाल हङकङमा रहँदै आउनु भएका समाजसेवी क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङको परिवारको आर्थिक सहयोग र पदमबहादुर तथा कुलकुमारी गुरुङ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा तप्राङका ४५ जना ज्येष्ठ नागरिक र विपन्न परिवारका सदस्यलाई सिरक वितरण गरिएको हो ।
कार्यक्रममा उक्त वडाका वडाध्यक्ष पसबहादुर बास्तोलाले ज्येष्ठ नागरिक र विपन्न परिवारको लागि बाँडिएको सिरकसँगै मानवीय रुपमा न्यानो माया पनि बाँडेको बताए । हरेक मानवले मानवीय धर्म पूरा गर्दै अर्को मानवको अनुहारमा खुशी खोज्न सके कोही पनि दुःखी हुन नपर्ने उहाँको भनाई थियो । बाँस्तोलाले वडाको समन्वयमा आर्थिक अवस्था कमजोर भएका ६० वर्ष माथिका र ७० वर्ष काटेका ज्येष्ठ नागरिकहरुको पहिचान गरेर सिरक वितरण गरिएको जानकारी दिए । वडाले गत वर्ष ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको समेत उनले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रम संयोजक पवित्रा गुरुङले हङकङमा रहेका क्षेत्रबहादुर गुरुङ र उनको परिवारले विगत वर्षहरुम विभिन्न क्षेत्रका गरीब तथा विपन्न वर्गहरुलाई आफ्ना स्व. बाजे प्रसाद गुरुङ, बजै मनश्री गुरुङ, बुबा दिलबहादुर गुरुङ तथा सासु आमा मिठु गुरुङको सम्झनामा सहयोग गर्दै आएको जानकारी दिदै यस वर्ष मादी तप्राङका ज्येष्ठ नागरिकलाई सिरक वितरणको लागि आर्थिक सहयोग गरेको बताइन् । भौतिक शरीर टाढा हुँदैमा आफ्नो देश गाउँ ठाउँ आफन्त इष्टमित्रको माया टाढा नहुने जनाउँदै एकअर्काको दुःखमा सारथी बन्नु नै नेपालीको पहिचान भएको उनले बताईन् ।

प्रतिष्ठानका सचिव एवम् श्री महारुद्र मावि तप्राङका प्रधानअध्यापक गंगाधर बरालले समाजसेवी महिला उद्यमी एवम् यस तप्राङ की चेली पवित्रा गुरुङले पिता पदमबहादुरको वार्षिक स्मृतिको दिन पारेर तप्राङको श्री महारुद्र माविमा विशेष कार्यक्रम मार्फत् सिरक वितरण गरेको बताए । जाडोमा न्यानो सिरक पाउँदा ज्येष्ठ नागरिक तथा विपन्न परिवारको अनुहारमा खुशी छाएको थियो ।




Comments are closed.