हुलाकी सडक : ४५ महिनामा कति भयो काम ?

महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको निर्माण कार्य सुस्तगतिमा अघि बढेको छ ।

निर्माण कम्पनीहरुको लापरबाहीका कारण सो सडकको निर्माण कार्य सुस्तगतिमा अघि बढेको हो । २०७३ साल फागुनमा ३० महिनाभित्र निर्माण सक्ने गरी ६२ किलोमिटर हुलाकी सडक तीनवटा प्याकेजमा ठेक्का दिइएको भए पनि दुई पटक म्याद थप गर्दा पनि निर्माण पूरा हुन सकेको छैन ।

हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनीयर पदमबहादुर मडैले निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलाइ भएको बताए । “तीन वटै प्याकेजमा गरेर अहिलेसम्म साढे १३ किलोमिटर मात्रै सडक कालोपत्र भएको छ”, उनले रासससँग भने, “तेस्रो खण्ड (बेल्डाँडीदेखि दैजीसम्म) मा निकुञ्जको प्रक्रिया मिलाउँदा एक वर्ष ढिला शुरु भएको थियो ।”

footwear zone

उनका अनुसार सडक निर्माणका लागि ठेक्का भएको चार वर्ष पुग्न लाग्दासमेत अझै काम दु्रत गतिमा देखिएको छैन । तीनवटै प्याकेजमा गरेर ७० प्रतिशत काम सकिएको छ । डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । अन्तिम प्याकेज ९बेल्डाँडीदेखि दैजीसम्म० को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले रूख कटान प्रक्रिया कारण केही ढिलाइ भएको उनको भनाइ छ ।

त्यसैगरी, बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धिसाइँ जेभीले पाएको भए पनि निर्माणको गति भने सन्तोषजनक छैन । “दोस्रो प्याकेजमा एक हजार २०० मिटर सडकमा नेपाल–भारत सीमा विवाद भएकाले त्यहाँको काम अन्तिममा गर्ने भनेर अरू ठाउँमा काम हुँदैछ”, सूचना अधिकृत मडैले भने, “उक्त सडक भारतीय पक्षले आफ्नो दाबी गरिरहेकाले त्यसको हल भएको छैन ।”

एक अर्ब नौ करोड रुपैयाँ भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नु परेको छ । पहिलो पटक म्याद आठ महिना थपिएको थियो । दोस्रो पटक म्याद एक वर्ष थप्ने भनिएको छ । निर्माण कम्पनीहरुले आठ महिनामै सक्ने भने पनि त्यो अझै पूरा भएको छैन । “पहिलो र तेस्रो खण्डको म्याद गत साउनमै सकियो भने दोस्रो खण्डको कामको अवधि यो महिना मात्रै छ”, इन्जिनीयर मडैले भने, “पहिलो खण्डको आगामी माघसम्म म्याद थप भए पनि दोस्रो र तेस्रो खण्डको थपिएको छैन ।” गत चैतयता कोरोना कहरका कारण भएको बन्दाबन्दीले पनि निर्माण कार्य प्रभावित बन्न पुगेको हुलाकी राजमार्ग योजना कार्यालयले जनाएको छ ।

“चैत, वैशाख र जेठमा कालोपत्र गरिन्थ्यो”, सूचना अधिकारी मडैले भने, “यो पालि कोरोनाका कारण त्यो समयमा काम गर्न सकिएन ।”

You might also like

Comments are closed.