टोल बस्तीमा पुगेर योजना सम्झौता

बलेवा । बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ । प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनका लागि वडा तहमा पुगेर आजदेखि योजना सम्झौताको कार्यक्रम बनाएको बताए ।

“मैले अन्यत्र यस्तो काम गरेको थिएँ, यहाँ मात्र नयाँ प्रयोग हुने हो”, उनले भने “अब कामले छिट्टै गति लिन्छ ।” उनका अनुसार हरेक वडामा ४० देखि ५० वटासम्म योजना छन् । ती योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष पटकपटक नगरपालिका धाउनुपर्ने र उनीहरूले गर्ने खर्चभन्दा नगरपालिकाको एउटा टिम प्रत्यक्ष पुग्दा सबैको काम एकैदिन सकिने उनले अनुभव सुनाए ।

बागलुङ नगरपालिकामा झण्डै ५५० योनजा चालु वर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन् । पहिलो चौमासिकभित्र योजना सम्झौता भएका छैनन् । तिहारपछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्नेजस्ता काम भइरहेको इञ्जिनीयर त्रिलोचन गिरीले बताए। “एकदुई योजना सम्झौता पहिला भएका छन्, तर सबै प्राविधिक योजनाको लागत स्टिमेट बनाउन लागेका छौँ”, गिरीले भने, “गाउँमै पुगेर योजना सम्झौता गरियो भने उपभोक्तालाई काम गर्ने जाँगर पनि बढ्ने देखिन्छ ।”

footwear zone

चालु वर्ष जैमिनी नगरपालिकाले पनि केही योजना उपभोक्तामाझ पुगेर सम्झौता गर्न तयारी गरेको छ । योजना अधिकृत प्रेम सापकोटाले उपभोक्तालाई नगरपालिकामा बोलाएर गर्ने सम्झौताको तुलनामा कम खर्च हुने अवस्थामा बस्तीमा पुगेर सम्झौता गर्ने बताए। समयमै कामसमेत थालेर वर्षात्अघिनै काम सक्ने, फरफारक गर्ने र बजेटको सदुपयोग गर्ने अभियान चलाउने सापकोटाको योजना छ । गत वर्षहरूमा असारमा सम्झौता गरेर काम अलपत्र छाड्ने प्रवृत्ति बढी थियो । बागलुङ नगरपालिकाका कतिपय योजना अहिले पनि समयमा नसकिएर अलपत्रजस्तै छन् ।

You might also like

Comments are closed.