कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरत

काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ औं वार्षिकोत्सव तथा २२औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए ।

सरकारको सार्मथ्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरे । उनले भने, “समस्याको समाधानका लागि सकारात्मक सन्देश नै सबैभन्दा ठूलो विषय हो, गतिलो मार्गदर्शन पनि हो ।”

footwear zone

कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल निर्माण गर्ने योजना अनुसार सोमबार देशभर नै शिलान्याश गर्न लागिएको उनले जानकारी दिए ।

सो कार्यका लागि अर्थ मन्त्रालयले ५८ अर्ब रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो । कम बोल्ने र बढी भन्दा बढी काम गर्ने पहलमा आफू रहेको उनले बताए । उनले नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वसँग सहकार्य गर्न आफू आतुर रहेको समेत बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाले पारेको असरलाई चिरेर दिगो आर्थिक वृद्धिका लागि आफूहरुले विशेष रणनीति तयार पारेको र केही दिनभित्रै सार्वजनिक गर्ने जानकारी दिए ।

वार्षिक चार लाख युवालाई रोजगारी प्रदान गर्न महासङ्घले उक्त रणनीतिमा विशेष जोड दिएको उल्लेख गर्दै साना तथा मझौला उद्योग काभिड– १९ का कारण सबैभन्दा बढी प्रभावमा परेका बताए । उनले कोरोनाले पारेको प्रभावलाई न्यून गर्दै विभिन्न क्षेत्रमा कर तथा भन्सार छुट र न्यून नीतिगत सुधार जरुरी रहेको स्पष्ट पारे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिश मोरले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वासको वातावरण बनाउन सरकारले विशेष पहल गरेको अवस्थामा कोरोना नेपालका लागि एउटा अवसर बन्न सक्ने बताए। उनले कोभिड–१९ ले सिर्जना गरेको सङ्कटलाई समाधान गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन, पूर्ण रुपमा उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न र आर्थिक गतिविधिलाई प्रश्रय दिन सबैको साझा प्रयास जरुरी रहेका बताए ।

अध्यक्ष मोरले चालू आवको बजेट तथा मौद्रिक नीतिमा समावेश गरिएका विषयको वस्तुनिष्ठ कार्यान्वयन गर्न माग गरे । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यून गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताए ।

You might also like

Comments are closed.