८ करोड ६ लाख रुपैयाँ लागतमा पक्की मोटरेबल पुल

कास्की ।कास्कीको मादी गाउँपालिका–७ र ३ जोड्ने गरी मादी नदीमा ‘ज्याउदु मोटरेबल’ निर्माण गरिएको छ । तत्कालीन जिविसमार्फत शुरु भई हाल प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयन गरिएको सो पुल निर्माणपछि मादी गाउँपालिकाको उत्तरी भेगका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

सो मोटरेबल पुलको सोमबार सांसद खगराज अधिकारीले कार्यक्रमबीच उद्घाटन गरे । बर्खायाममा मादी नदी बढेपछि यातायात सम्पर्कबाट विमुख हुने मादीपारिका पर्यटकीय गाउँ ताङतिङ, घ्यामराङ, रोही, सेतीखोला, याङ्जाकोट, स्यारचोक, कुस्कुडाँडा, हरिस्वाराँ लगायतका गाउँका नागरिक पुल बनेसँगै उत्साहित भएका छन् ।

जिल्लामै पहिलोपटक ‘प्रिस्टेस’ डिजाइनमा ८३ मिटर लामो सो पुल रु ८ करोड ६ लाखमा निर्माण गरिएको पूर्वाधार कार्यालयका इन्जिीनीयर गुरुदत्त अधिकारीले जानकारी दिए। पुल निर्माणका लागि विसं २०७२ चैत २१ मा मृतसञ्जीवनी जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।

footwear zone

विसं २०७६ को असारमा ढलान गर्न तयारी अवस्थामा रहेको सो पुल मादीले बगाएपछि काममा पुनः ढिलाइ भएको थियो । गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले माथिल्लो गाउँ क्षेत्रलाई जोड्ने आफूहरुको सपना ज्याम्दु मादी पुलले पूरा गरेको बताउँदै विकटतालाई निकट र छुट्टिएको गाउँलाई नजीक ल्याएकामा खुशी व्यक्त गरे ।

गुरुङले राजमार्गसहितको विकास मादीमा शुरु भएको जनाउँदै पुल निर्माण गाउँपालिकाका लागि ‘टर्निङ प्वाइन्ट’ भएको तथा विकास र अवसरको ढोका खुलेको बताए ।। उनले भने, “ज्याउदु पुलले मादीपारिका जनताको मुहारमा खुशी छाएको छ । यससँगै मादीको भैँसेसम्म आउने मध्यपहाडी राजमार्गलाई यही पुल हुँदै वडा नं ७ को मेलबोट भएर पोखरा लैजान सकेको खण्डमा गाउँपालिकाको धेरै वडा पक्की राजमार्गले छुनेछ ।”

यसैगरी मादी गाउँपालिका–७ को सवीको ठाडो खोलामा ट्रस पुल निर्माण गरिएको छ । पुल निर्माणपछि वडा नं ६ र ७ का १०० घरधुरीका ५५० जना प्रत्यक्ष लाभान्वित भएको वडा नं ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता लालबहादुर गुरुङले जानकारी दिए ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम तथा गाउँपालिकाबाट गरी २२ लाख ३९ हजार १०८ तथा जनश्रमदान ५१ हजार ७५० गरी रु २२ लाख ९० हजार ८५७ मा पुल निर्माण गरिएको घट्टेखोला सवी ट्रष्ट पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर विकले जानकारी दिए ।

You might also like

Comments are closed.