काठमाडौं ।
कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।
मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति देखिएको हो ।
मन्त्रालयमा आयोजित बैठकमा ऊर्जा मन्त्रालयतर्फका नौ, जलस्रोत तथा सिँचाइतर्फका चार निकायका प्रमुख तथा प्रतिनिधिले योजनाको प्रस्तुतीकरण गरेका थिए ।

जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, विद्युत् विकास दशक कार्ययोजना, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरण, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी लिमिटेड, राष्ट्रि«य प्रसारण ग्रिड कम्पनी, जलस्रोत तथा सिँचाइ विभाग, जल तथा मौसम विज्ञान विभाग, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र, भूमिगत जलस्रोत विकास समिति र जल तथा ऊर्जा आयोगको सचिवालयले प्रगति विवरण पेश गरेका थिए ।
ऊर्जा मन्त्रालयले पछिल्लो चार महिनामा ७८ प्रतिशत वित्तीय र ७७.८८ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यस्तै सिँचाइतर्फको वित्तीय प्रगति ४२.६६ र भौतिक प्रगति ७३.६४ छ । मन्त्रालयको समष्टिगत वित्तीय प्रगति ६८।७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत छ ।
मन्त्रालयको आर्थिक वर्ष २०७७÷७८ का लागि कूल बजेट रु ९९ अर्ब २९ करोड ४८ लाखमध्ये पहिलो चौमासिकका लागि रु २० अर्ब ४२ करोड २६ लाख विनियोजन गरिएको थियो । जसमा रु १४ अर्ब तीन करोड ७४ लाख खर्च भएको छ । यो कूल चौमासिक बजेटको ६८.७३ प्रतिशत हो ।
ऊर्जातर्फका ४० मध्ये ११ आयोजनाको प्रगति ८० देखि शतप्रतिशतसम्म देखिएको छ । यस्तै १२ आयोजनाको प्रगति ५० देखि ८० प्रतशितसम्म छ । यस्तै ५० प्रतिशत वा सोभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या १७ छ । यस्तै कूल ३३ आयोजना रहेका सिँचाइतर्फका १९ आयोजनाको प्रगति ८० देखि १०० प्रतशित छ । पचासदेखि ८० प्रतिशतसम्म प्रगति भएका आयोजनाको सङ्ख्या सात छ । यस्तै सात वटा आयोजनाको प्रगति भने ५० प्रतिशतभन्दा कम छ ।




Comments are closed.