पोखरा । कन्या क्याम्पस पोखरामा भएको २६औं साधारण सभा तथा ८औं अधिवेशनले क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा पुनः योगेन्द्रलाल प्रधानलाई निर्विरोध निर्वाचित गरेको छ । क्याम्पसका सञ्चालक सदस्यहरुमा मदन शर्मा, शिवलाल मल्ल, वामन कुमार पराजुली र गोपाल ध्वजू छन् ।
गत साता भएको क्याम्पसको अधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई शनिबार एक समारोहबीच पदस्थापन गरिएको हो । निर्वाचित पदाधिकारीहरुको पदावधि ३ वर्षको रहनेछ ।
नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन समितिका संयोजक ध्रुव के.सी.ले सपथ ग्रहण गराएका छन् । के.सी.ले महिला शिक्षामा योगदान पुर्याउने पश्चिमाञ्चल क्षेत्रकै एकमात्र कन्या क्याम्पसलाई अझ गुणस्तरीय शिक्षा प्रदान गर्न शुभकामना दिएका थिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रधानले समिति, प्राध्यापक, कर्मचारी, अभिभावक, छात्राहरु र सबै सरोकारवालाहरुको सहयोगमा क्याम्पसलाई नेपालको नै नमूना क्याम्पसको रुपमा सञ्चालन गर्ने रणनीतिका साथ अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । निर्वाचित पदाधिकारीहरुलाई क्याम्पस प्राध्यापक संघका सभापति क्षेत्रबहादुर क्षेत्रीले खादा लगाएर सम्मान गरेका थिए ।
क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले शैक्षिक गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्न लागेको क्याम्पसमा नव निर्वाचित पदाधिकारीहरुको पहलमा विकास निर्माणका कार्यहरु अघि बढ्ने विचार व्यक्त गरे । उक्त कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख चित्र बहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।
ध्रुव के.सी.को संयोजकत्व तथा कन्या मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बुढाथोकी र शान्ति उदास सदस्य रहेकोे निर्वाचन उप समितिले निर्वाचन गराएको हो ।




Comments are closed.