गलकोट । बागलुङको बलेवामा प्याराग्लाईडिङको व्यावसायिक उडान गर्ने गरी पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार निर्माण थालको हो ।
मंगलबार एक कार्यक्रमबीच बागलुङ नगरपालिका–१३ बलेवास्थित प्याराग्लाइडिङ उडान (टेकअफ)गर्ने स्थान पहरेमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पूर्वाधार निर्माणको शिलान्यास गरे ।
शिलान्यासपछि मन्त्री लम्सालले प्याराग्लाइडिङ पर्यटकको महत्वपूर्ण आधार भएको बताए । “गण्डकी प्रदेशसले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेको छ”, मन्त्री लम्सालले भने, “साहसिक पर्यटकको गतिविधि बढ्दै गइरहेको सन्र्दभमा बागलुङको बलेवामा प्याराग्लाइडिङको राम्रो संभावना देखियो ।”

मन्त्री लम्सालले बागलुङ धार्मिक तथा सांकृतिकरुपमा धनी भएको र अब साहसिक पर्यटनसँग जोडिँदै गएको बताए । गण्डकी प्रदेशले घोषणा गरेका ११० पर्यटकीय गन्तव्यको पूर्वाधार, निर्माणमा आफू लागेको उनले बताए ।
बागलुङ नगरपालिका–१३ बलेवास्थित प्याराग्लाइडिङ उडान (टेकअफ)गर्ने र सोही वडाको बहरेमा अवतरण (ल्याण्ड) गर्ने गरी दुई पटकसम्म प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । हावाको बेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको बलेवा प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिए ।
गिरीका अनुसार रु २० लाख रकमबाट उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिने छ । उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने बागलुङ नगरपालिका–१३ वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए । प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको छ । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, प्रदेश सांसद कृष्ण थापा, सावित्री राना, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेललगायतले बागलुङको पर्यटन क्षेत्रका लागि आफूहरुले पहल गरिरहेको बताएका थिए ।
मन्त्री लम्सालले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित अतिथि सत्कार घरबासले निर्माण थालेको पार्कको समेत मंगलबार बिहान शिालन्यास गगरेका छन् ।




Comments are closed.