झलनाथ खनाल/ भजनी । दाङको तुलसीपुर उपमहानगरपालिका–६ का विनोद हमालले २०५५ सालमा छ वटा मौरी घारबाट व्यावसायिक मौरीपालन शुरु गरे । उद्योग वाणिज्य सङ्घ तुलसीपुरले दिएको मौरीपालन तालीम लिएपछि हमालले मौरीपालन व्यवसाय शुरु गरेका हुन् । अहिले उनिसँग झण्डै ६०० घार मौरी छन् । हमाल ती मौरीका घार बोकेर अहिले कैलालीको भजनी नगरपालिका पुगेका छन् ।
हमालले करिब २०० मौरीका घार बोकेर तोरी फुलेका खेतमा मौरी घारहरु सार्दै भजनी पुगेका हुन् । जहाँ फूल फुल्यो, त्यहीँ मौरी घार बोकेर हिँड्ने हमालले २०० घार माहुरी भजनी नगरपालिका वडा नं ३ र ८ को हुलाकी सडक छेउका खेतमा लगाइएको तोरीबारीमा राखेका छन् भने १५० घार बर्दियामा राखेका छन् । माहुरीलाई मह उत्पादनका लागि फूल महत्वपूर्ण हुने भएका कारण हमाल विसं २०५८ देखि नै दाङबाट बर्सेनि माहुरी घार बोकेर आउने गरेको बताउछन् । “मैले विसं २०५५ देखि व्यावसायिक मौरीपालन शुरु गरेको हुँ, विसं २०५८ देखि कैलालीमा माहुरी ल्याएर आउन थालेको हुँ”, हमालले भने, “पहिले कैलालीकै लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा जाने गथ्र्यौं । अहिले भजनी आएका छौँ ।” मौरी घार ल्याएर जसको घरमा उनि बसे उनिहरु पनि अहिले उनकै सिकाइबाट प्रेरित भएर व्यावसायिक मौरीपालनमा लागेका छन् ।
स्वर्गद्वारी बी कन्सल्ट्स प्रालिका प्रबन्धकसमेत रहेका हमालले वार्षिक रु तीन करोडभन्दा बढीको महको कारोवार गर्दै आएको बताए। “हामी कहिल्यै घर बस्दैनौँ । जहाँ फूल फुल्छ, त्यहीँ मौरीका घार बोकेर पुग्ने गरेका छौँ”, हमालले भने, “कहिले तराई, कहिले पहाड त कहिले जङ्गलमा पनि हाम्रो बास हुन्छ ।” दाङ क्षेत्रमा असोज कात्तिकमै तोरी फुल्ने भएका कारण मौरीपालन व्यवसाय दाङ केन्द्रित हुने भए पनि मङ्सिरदेखि पुससम्म कैलालीमा तोरी फुल्ने भएका कारण विभिन्न क्षेत्रमा पुग्ने गरेको बताउँदै हमालले कैलालीपछि बर्दियामा तोरी फुल्ने भएका कारण बर्दिया जाने तयारी भएको बताएका छन् । हमाल मात्र नभई थुप्रै मौरीपालक किसानले त्यसैगरी मौरीका घार बोक्दै फूल फुलेको ठाउँमा जाने गरेका छन् । दाङबाट अन्य मौरीपालक किसान मौरी घार बोकेर कैलालीकै विभिन्न ठाउँमा आएको हमाल बताउछन् । उनले प्रतिघार २० देखि ३० केजीसम्म मह उत्पादन गरेको बताउँदै एक हप्तादेखि १० दिनभित्र मह निकाल्न मिल्ने बताए । “माहुरीलाई फूल अनिवार्य चाहिन्छ । त्यही फूलको रसकै लागि हामीले घार बोकेर हिँड्ने गरेका हौँ”, हमालले भने, “उत्पादन राम्रो छ । बजारको कुनै समस्या छैन । अझै पनि हामीले मागको पूर्ति नै गर्न सकेका छैनौँ ।”

स्वर्गद्वारी बी कन्सल्ट्स प्रालिले स्वर्गद्वारी हनी ब्राण्डको नामबाट मह उत्पादन तथा बजारीकरण गर्दै आएको छ । उत्पादन गरेको मह प्रतिकेजी रु ६२५ देखि तीन हजारसम्ममा बिक्री हुँदै आएको छ । तोरीको मह, रुदिलोको मह, चिउरीको मह, जामुनको मह गरी फरकरफरक फूलको रसबाट उत्पादन भएको महको दर पनि फरकफरक रहेको हमाल बताउछन् । उनले तुलसीपुर उपमहानगरपालिकासँगै काठमाडौँको सामाखुसी, बुटवल, नेपालगञ्जलगायतका क्षेत्रमा बिक्री केन्द्र राखेर मह बिक्री गर्दै आएको बताए । हमालले अन्य किसानले उत्पादन गरेको मह खरिद गरी बजारीकरणसमेत गर्दै आएका छन् ।
१४ जनाले प्रत्यक्षरूपमा रोजागारी पाएको बताउँदै पैसाकै लागि विदेशिनु मुर्खता मात्रै भएको उनले बताए । “मैले उद्योग वाणिज्य सङ्घ तुलसीपुरले दिएको मौरीपालन तालीमबाट व्यवसाय शुरु गरेको थिएँ । मसँगै तालीम लिएका १७ जनाले व्यावसायिकरुपमा मौरीपालन शुरु गरेका थियौँ”, हमालले भने, “अहिले केही मात्र योे व्यवसायमा छौँ । अरुले छोडिसके भने नयाँ व्यवसायको रूपमा थुप्रै मौरीपालनतर्फ आकर्षित भएका छन् ।” उनले गत वर्ष साना तथा मझौला आयस्तर वृद्धि आयोजनाबाट रु एक करोडको अनुदान पाएको बताउँदै त्यसबाट ६०० घार माहुरी किसानलाई वितरण गर्न सफल भएको बताए । उनले प्रधानमन्त्री आधुनिकीकरण ब्लकबाट समेत सहयोग प्राप्त गरेको बताउँदै सरकारले मौरीका लागि पनि एम्बुलेन्ससरहको सडकमा छुट गर्नुपर्ने माग गरे ।
कोरोनाले व्यवसायमा नोक्सान
कोरोना सङ्क्रमणका कारण व्यवसायमा टिक्न गाह्रो भएको भन्दै उहाँले महको माग बजारमा अत्यधिक भए पनि बीचमा भएको बन्दाबन्दीले सयौँ घार मौरी हराएको बताए।
उनले कैलालीको जानकी गाउँपालिकाको कैलाशेश्वर सामुदायिक वनमा चराउन राखिएका घार बन्दाबन्दीको बेला दाङबाट आउन सक्ने अवस्था नहुुँदा मौरी घार छोडेरै हराएको बताए । “चैतमा घार सार्नुपर्ने हुन्छ । बन्दाबन्दीले सार्न सकिएन”, हमालले भने, “लाखौँको नोक्सानी ब्यहोर्नुपर्यो । सरकारले केही राहत दिन्छ कि भन्ने आशामा छौँ ।”




Comments are closed.