होसियार!!! उपभोक्ता ठगे मुद्दा

बैतडी । उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा दायर गरेर कारवाही गरिन थालिएको हो ।

चालु आर्थिक वर्षमा चारवटा मुद्दा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । उनले भने “दुई मुद्दाको फैसला भइसकेको छ भने दुई विचाराधीन अवस्थामा छन्, फैसला भएका मुद्दामा एक मिठाइ पसले र एक होटललाई रु पाँच÷पाँच हजार जरिवानाको फैसला भएको छ ।” फैसला हुन बाँकी मुद्दा पनि खाद्य पदार्थवाला रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यस्तै सातवटा दर्ता तयारीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, “बजार अनुगमनका क्रममा २७ वटा नमूना सङ्कलन गरिएका थिए, सङ्कलित नमूनामध्ये प्रयोगशालामा परीक्षण गर्दा सातमा कैफियत रहेकाले मुद्दा दर्ताको तयारी भएको हो ।”

footwear zone

संयुक्त बजार अनुगमन टोलीले अनुगमनकै क्रममा तत्काल चार व्यापारीलाई रु सात हजार ५०० जरिवाना गरिएको जनाएको छ । अनुगमन टोलीले चालु आवको हालसम्म बजार अनुगमनका क्रममा रु आठ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको जनाएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाबाहेकका अन्य स्थानीय तहमा पहिलो चरणको अनुगमन सम्पन्न गरेको जनाइएको छ । अनुगमन कार्यलाई केही दिनमै निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

व्यापारी आफैँले गरे अखाद्य वस्तु नष्ट
बैतडीका एक व्यापारीले म्याद नाघेको रु एक लाख बराबरको पेयपदार्थ आफैँ नष्ट गरेका छन् । नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटका व्यापारी रघुवीर थापाले आफ्नो पसलको गोदामघरमा रहेका रु एक लाख बराबरको पेयपदार्थ आफैँले नष्ट गरेका हुन् ।

लकडाउनका कारण लामो समयदेखि पसल बन्द हुँदा म्याद नाघेपछि आफैंले नष्ट गरेको झुलाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले जानकारी दिए । उनले भने“लकडाउन हुनुभन्दा पहिला नै भारतबाट ल्याइएको पेयपदार्थ पिउनयोग्य नभएपछि नष्ट गरिएको हो । नष्ट गरिएको पेयपदार्थमा कोक र फेन्टा छन् ।” पैँतालीस पेटीभन्दा बढी म्याद नाघेर पिउनयोग्य नभएपछि उक्त पेयपदार्थ व्यापारी आफैँले नष्ट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

पछिल्लो समय जिल्लाका बजार अनुगमन कार्य कडाइका साथ गरिएकाले व्यापारी सचेत हुन थालेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए । उनले भने, “अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएमा व्यापारीलाई मुद्दासमेत चलाउन थालेपछि व्यापारी सचेत हुने थालेका छन्, व्यापारी आफैँमा चेतना आएर म्याद नाघेको सामान आफैँ नष्ट गर्ने गरेका छन् ।”

You might also like

Comments are closed.