काठमाडौं । बंगलादेशले नेपाललाई रासायनिक मल दिने भएको छ । बंगलादेशको उद्योग मन्त्रालयमा एक कार्यक्रमका बिच दुई पक्षको सम्झौता भएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्र बहादुर भण्डारी र बंगलादेश सरकारको उद्योग मन्त्रालयको तर्फबाट बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
५० हजार मेट्रिक टन युरिया मल दिने सम्झौता भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जि सीले जानकारी दिए । बंगलादेश केमिकल इन्डष्ट्रिज कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।

नेपाल र बंगलादेशका सरकार सरकार बिच (जिटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो ।
युरिया मलको अन्तर्राष्ट्रिय फर्मूला मूल्य अनुसार प्रति मेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको छ । नेपाल सरकारले अनुदानमा प्रदान गर्ने युरिया मलको अन्तर्राष्ट्रिय बोलपत्रको पछिल्लो मूल्य भन्दा उक्त मूल्य प्रति मेट्रिक टन अमेरिकी डलर १८.५२ ले कम हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले एल सी खोलेको दश दिन पश्चात मल लोडिङ्ग सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुइ महिना भित्र बंगलादेशले उपलब्ध गराइसक्नुपर्ने छ । बंगलादेशको चट्टोग्रामबाट उक्त मल मङ्गला जलमार्ग र रेल मार्ग मार्फत कृषि सामग्री कम्पनीको विराटनगर, विरगंज र भैरहवाका गोदामसम्म आपूर्ति हुनेछन् । साथै केहि मात्रामा मल चट्टोग्रामबाट भारतको कोलकत्ता वा हल्दिया हुदै नेपाल प्रवेश गर्ने बताईएको छ ।





Comments are closed.