‘फोर स्टार’ लिदै ‘होटल माउन्ट कैलाश रिसोर्ट’, लगानी विस्तार

सुरेन्द्र पौडेल

पोखरा । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सबैभन्दा प्रभावित सेवा उद्योग हो पर्यटन । कोरोनाका कारण पर्यटन क्षेत्र बन्द जस्तै छ । कोरोना महामारीबाट प्रभावित भइरहेको अवस्थामा पोखराका पर्यटन व्यवसायी नरेश भट्टराई भने लगानी विस्तारमा जुटिरहेका छन् ।

भट्टराईले पोखराको माउन्ट कैलाश रिसोर्टमा लगानी विस्तार सुरु गरेका हुन् । लगानी थप गरी रिसोर्टले ‘फोर स्टार’ लिने प्रक्रियासमेत सुरु गरिसकेको छ । ‘होटल माउन्ट कैलाश रिसोर्ट’ नामबाट फोर स्टार लिन लागिएको सञ्चालक नरेश भट्टराईले आर्थिक आवाजलाई जानकारी दिए । ‘फोर स्टार लिनका लागि प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने, ‘अब माउन्ट कैलाश चारतारे उत्कृष्ट होटलमा स्तरउन्नति हुँदैछ ।’

footwear zone

माउन्ट कैलाशले २१ वटा रूम थप गर्न लागेको छ । सुविधा सम्पन्न आधुनिक भवन थप गर्न लागिएको उनले बताए । निर्माण हुने भवनको शिलान्याससमेत भइसकेको छ । अण्डरग्राउन्ड पार्किङ सहित ५ तलाको भवन बन्नेछ । जहाँ लिफ्टको सुविधा पनि हुनेछ । नयाँ भवनमा १२ करोड रुपैयाँ लगानी थप हुनेछ ।

होटलमा यस अगाडि ५१ वटा रुम थिए । अब रुम ७२ पुग्नेछ । प्रत्यक्ष रोजगारी करिब १०० जना पुग्नेछ । १२ वर्ष अगाडि ७ करोड रुपैयाँ लगानीबाट सञ्चालनमा आएको रिसोर्टले समय सापेक्ष रुपमा लगानी विस्तार गर्दै आइरहेको छ । रिसोर्टलाई आधुनिक र सुविधा सम्पन्न बनाउने क्रममा लगानी बृद्धि गरिरहेको भट्टराईले जानकारी दिए ।

विभिन्न अवार्ड विजेता रिसोर्ट

पोखराको माउन्ट कैलाश रिसोर्ट विभिन्न अवार्ड जित्न सफल छ । फ्रान्सको राजधानी पेरिसमा ‘वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड गोल्ड क्याटागोरी’ प्राप्त गरेको रिसोर्टले युकेबाट ‘वेस्ट इन्टरप्राइजेज अवार्ड’ प्राप्त गरिसकेको छ ।

रिसोर्टले ‘मेनेजर अफ द इयर मेडल’ समेत जितिसकेको छ । ‘रिसोर्टले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न अवार्डहरु जित्न सफल छ,’ उनले भने, ‘हाम्रो स्तरीय सेवाबाट पर्यटकहरु खुसी हुन्छन् ।’ पोखरामा आयोजना हुने विविध कार्यक्रमका लागि पनि रिसोर्ट पहिलो रोजाईमा पर्ने गरेको भट्टराईले बताए । कर्मचारीलाई समेत रिसोर्टले देश तथा विदेशमा भ्रमणका लागि पठाउने गरेको छ । रिसोर्टले कर्मचारीलाई वर्षेनी सम्मान गरेर प्रोत्साहन समेत गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.