अन्य व्यवसाय छाडेर मौरीपालमा लगानी

सानेबहादुर नेपाली÷तनहुँ । कुनै समयमा बस मालिक भनेर चिनिने व्यास नगरपालिका–१ गल्बुबेंसी निवासी ५५ वर्षीय रामनाथ मिश्र अहिले मौरीबाजे भनेर परिचित बनेका छन् । बस र ट्र्याक्टरबाट राम्रै आम्दानी भए पनि अस्वस्थ प्रतिस्पर्धा र विकृति बढ्दै जान थालेपछि भएका गाडी बिक्री गरेर श्रीकृष्ण मौरीफार्म दर्ता गरी मौरीपालनतर्फ लागेको उनले बताए । “विसं २०७२ देखि मौरीपालन थालेपछि छुट्टै आनन्द मिलेको छ”, उनले भने, “कसैसँग झगडा र राता गाला गर्नुपरेको छैन ।”

मौरीपालनको शुरुमा धेरै सङ्घर्ष गर्नुपरेको मिश्रले बताए । “जीवनमा हरेस भने कहिल्यै खाइनँ, त्यसकै सफलता आज मिलेको आभास गरेको छु ।” वनको मुढेघारबाट मौरी पाल्न शुरु गरेका मिश्रले दशौँ पटकसम्म पनि मौरी नबसेपछि धेरै दुःख पाए पनि हरेसचाहिँ नखाएको उनि बताउछन् । अहिले उनको फार्ममा ५० घार सेरेना जातका मौरी छन् ।

करिब एक रोपनी क्षेत्रफलमा तारबार गरी मौरीपालन गरी मौरीलाई आवश्यक पर्ने विभिन्न किसिमका फूलसमेत लगाएका छन् । वर्षमा कम्तीमा ४०० माना मह उत्पादन हुने र प्रतिमाना रु एक हजारमा बिक्री गर्ने गरेको उनि बताउछन् । मौरी छुट्याएर मौरीको घारसहित वर्षमा ५० देखि ६० घारसम्म बिक्री गर्ने गरेको उनले जानकारी दिए । यसरी बिक्री गर्दा प्रतिघार मौरीसहित रु १० हजार मूल्य पर्नेछ ।

footwear zone

मह र मौरी बिक्री गरेर वार्षिक रु सात÷आठ लाख सजिलै कमाउँदै आएको बताउँदै फार्ममा १०० घार मौरी पुर्याउने लक्ष्य रहेको उनि बताउछन् ।

बजारको समस्या छैन

उत्पादन गरिएका मह बिक्रीका लागि बजारको समस्या नरहेको उनले बताए । मह बिक्रीका लागि घरघरमा धाउनु पर्दैन । घरमा नै आएर मह लैजाने गरेका छन् । फार्ममा उत्पादन भएको मह लिनका लागि टाढा–टाढादेखि मानिस आउने गर्छन् । कुनै समय त मह सकिएको अवस्थामा मानिसहरु रित्तै हात फर्कनुपरेको उनि बताउछन् ।

बजारमा डुलाएर बिक्री गर्ने मह अधिकांश नक्कली हुने भएकाले डुलाएर हिँड्नेसँग सजग रहन सबैमा उनले आग्रह गरे । मह बालबालिका, वयस्कदेखि वृद्धवृद्धा सबैको लागि उत्तम मानिन्छ । रुघाखोकीका लागि मह अचूक औषधिको रूपमा लिइन्छ ।

वार्षिक कम्तीमा ४०० माना मह उत्पादन गर्दै आएका मिश्रले यस वर्ष मह उत्पादन ह्वात्तै घटेको बताए । यस वर्ष अत्यधिक वर्षा भएका कारण मह उत्पादन घटेको हो । अहिले मुस्किलले बाह्र माना मह उत्पादन भएको उनले जानकारी दिए । लामो समय पानी परिरहेकाले चर्नका लागि बाहिर निस्के पनि फूलको रस पानीले पखालिदिने भएकाले सोचेअनुरूपको मह उत्पादन नभएको उनले बताए । मौरीका लागि अरिङ्गाल, माउसुली, सुलसुले, गँगटे, बिच्छीलगायत मुख्य शत्रु मानिन्छन् ।

पछिल्लो समयमा विदेशिने युवालाई सकारात्मक सन्देश किसान मिश्रले दिएकाछन् । मेहनत र परिश्रम गर्न सके स्वदेशमै बसेर मनग्य पैसा कमाउन सकिने उनको धारणा छ । “वार्षिक आठ÷दश लाख कमाउन विदेशिनु पर्दैन”, उनले “एक सय घार मौरी पाल्न सके विदेशमा कमाउने पैसा आफ्नै देशमा घरपरिवारसँग बसेर कमाउन सकिन्छ ।” मौरीपालनका लागि धेरै लगानी गर्न नपर्ने, दिनहुँ खटिनुनपर्ने, धेरै जनशक्ति नचाहिने हुँदा अन्य पेशाको तुलनामा सजिलो पेशाका रूपमा लिने गरिन्छ ।

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

मौरीपालन कृषक मिश्रले मौरीबाट विष उत्पादन गर्ने लक्ष्य रहेको बताए । महको घारभित्र रु ६० हजार पर्ने मेसिन जडान गरी सिसासँगै करेन्ट प्रवाह गर्दा मौरीलाई करेन्ट लाग्ने र करेन्ट लागेको झोकमा रिसाउँदा सिसालाई टोक्दा विष छाड्ने बताइएको छ ।

उक्त विष औषधि प्रयोगमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले विष उत्पादन गर्ने योजना रहेको उनले बताए । सिसामा थोरै विष छाड्ने भएकाले उक्त विष कोट्याएर सङ्कलन गरिनेछ । उक्त विषको प्रतिकिलो रु २५ लाखसम्म मूल्य पर्ने बताइएको छ । मौरीपालन किसान मिश्रलाई मौरीसहित २५ घार अनुदानमा प्रदान गरिएको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले जानकारी दिए । मौरीपालनतर्फ कृषकलाई आकर्षित गर्न कार्यालयले मौरीसहितको घार अनुदानमा वितरण गर्दै आएको उनले बताए ।

You might also like

Comments are closed.