कृषकले पाएनन् तेजपातको उचित मूल्य

उदयपुर । तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा वढी यस जिल्लामा तेजपात उत्पादन हुनेगर्दछ ।

जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो रु २५ देखि रु ४० भन्दा बढीमा बिक्री हुन नसक्दा आफूहरु समस्यामा परेको रौतामाई गाउँपालिका–१ मुर्कुचीका दिव्यराज बुर्जामगरले जानकारी दिए ।

उनि भन्छन्, “दश वर्षदेखि आफूहरुले रु २५ देखि रु ४० प्रतिकिलो बिक्री गरेको तेजपात अहिले पनि विचौलियाको कारण उही मूल्यमा बिक्री गर्न बाध्य हुन परेको छ ।” स्थानीय बजारका विचौलिया गाउँमा प्रवेश गरेर मूल्य निर्धारण गर्ने र सस्तोमा बिक्री गर्न बाध्य बनाउने गरिएको बताइएको छ । उनीहरुले बाहिरका व्यापारीलाई प्रतिकेजी रु ६० देखि रु ७० भन्दा बढीमा तेजपात बिक्री गर्ने गरेको रौतामाई–४ मलबासेका कृषक रत्नबहादुर मगरातीले जानकारी दिए ।

footwear zone

रौतामाई गाउँपालिका नामन्तका राजकुमार मगर भन्छन्, “स्थानीय तहका व्यापारी, ठेकेदारले बाहिरबाट आउने खरीदकर्तालाई छेकेर आउनै दिँदैनन्, अनि पहिला उनीहरुले हामीहरुबाट सस्तोमा खरीद गरेर महँगो मूल्यमा बाहिरका व्यापारीलाई बिक्री गर्दछन्, तेजपात उत्पादन गर्ने हामी कृषक यसरीनै वर्षेनी मारमा पर्दै आएका छौँ, अहिलेसम्म उचित मूल्य पाउन सकिएको छैन ।”

गढी गाउँपालिका–३ का धनबहादुर तामाङका अनुसार स्थानीय विचौलिया ठेकेदारले आफूहरुबाट रु ३० प्रतिकिलो तेजपात खरीद गरेर बाहिरका व्यापारीलाई दोब्बर नाफा लिएर बिक्री गर्ने गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घले तेजपातको मूल्य वृद्धिमा उचित चासो नदिँदा बढी ठगिनुपर्ने र मर्कामा पर्नुपर्ने अवस्था रहेको कटारी–७ हर्देनीका कृषक शेषराज खत्री बताउछन् ।

रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले किसानलाई तेजपातको उचित मूल्य दिन सहयोग गर्ने जानकारी दिए । जिल्लाको पहाडी क्षेत्रको रौता, उदयपुर गढी, ताप्ली, कटारी र त्रियुगा नगरपालिकाको साउने खाँबु क्षेत्रमा उत्पादन हुने तेजपात विराटनगर, वीरगञ्ज हुँदै भारततिर बिक्री हुने गरेको कृषक बताउँछन् । जिल्लामा दश हजार हेक्टर क्षेत्रफलमा तेजपात खेती हुँदै आएको छ भने वार्षिक छ लाख केजी तेजपातसमेत उत्पादन हुँने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले जानकारी दिए । जिल्लामा वार्षिक रु आठदेखि दश करोडसम्मको तेजपातको बिक्री तथा कारोवार हुँदै आएको छ ।

You might also like

Comments are closed.