गलेश्वर । केही वर्षअघिसम्म गाउँघरमा रोजगारीको कुनै सम्भावना नदेखेर पैसा कमाउनका लागि अरबका मरुभूमिमा जाने युवाहरु पछिल्लो समयमा कृषि र उद्यमतर्फ आकर्षित भएका छन् । सरकारले कृषि र उद्यम गर्न चाहने युवाहरुलाई विभिन्न कार्यक्रममार्फत प्रोत्साहित गर्न थालेपछि उनीहरु आफ्नै खेतबारी र गाउँघरमा नै परिश्रम गर्न थालेका हुन् ।
सङ्घ, प्रदेश र स्थानीय सरकारले विदेशबाट फर्केका र स्वदेशमा नै रहेर केही काम गर्न चाहने युवाहरुका लागि सहयोग र अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरी युवाहरुलाई कृषि र उद्यमसँग जोडेपछि यहाँका युवाहरु राहदानी थन्काएर कृषि र उद्यमतर्फ लागेका छन् । स्थानीय तहमा गठित कृषि शाखाको पछिल्लो तथ्याङ्कअनुसार जिल्लाका ६ वटै स्थानीय तहका एक हजार ६०० भन्दा बढी युवाहरु नेपालमा कोरोना सङ्क्रमणका कारण गरिएको लकडाउन ९२०७६, चैत यता व्यावसायिकरुपमा कृषि र उद्यमतर्फ लागेका छन् ।
करिब १८ वर्ष मलेसिया र खाडीका अन्य मुलुकमा बिताएर गाउँ फर्केका बेनी नगरपालिका–१ का यामबहादुर थापा, ५ वर्ष साउदी अरब बसेर फर्केका ज्यामरुककोटका हरि शर्मा, २० वर्ष मलेसियामा बसेका धु्रव थापा, मङ्गला गाउँपालिकाका महेन्द्र पौडेल, मालिकाका तुलबहादुर बुढालगायत कैयौँले अहिले गाउँमा नै लोभलाग्दो प्रगति गरिरहेका छन् । उनीहरुले शुरु गरेक। व्यावसायिक तरकारी खेतीले अहिले उत्पादन दिन थालेको छ भने एक याममा तरकारी बेचेर मात्रै रु दुई लाखभन्दा बढी कमाई गर्न सफल भएका छन्

मालिका गाउँपालिका–५ देविस्थानका २७ वर्षीय युवा तमबहादुर फगामी गत माघमा युएईबाट तीन वर्षपछि गाउँमा फर्के । तीन महिनाको छुट्टी लिएर गाउँमा आएका फगामीको छुट्टी नसकिँदै देशमा लकडाउन भयो । पुनः फर्किएर युएई जाने वातावरण भएन । त्यसपछि उनले गाउँपालिकाको अनुदानमा तरकारी खेती र पशुपालन शुरु गरे । अहिले उनले तरकारी बेचेर मात्रै करीब रु तीन लाख कमाई सके छन् भने बाख्रापालन पनि शुरु गरेका छन् ।
“विदेश नजाने भनेर मैले त पासपोर्ट पनि थन्काइसकेँ, जान्न विदेश । गर्न सक्ने हो भने गाउँमा नै छ प्रशस्त सम्भावना”, हँसिला र फुर्तिला फगामीले भने, “खाडीलाई बाइबाई गरेर आफ्नै गाउँलाई हाइहाई गर्ने हो अब ।”
फगामीले मात्रै होइन बेनी नगरपालिका–२ का राजु कार्र्की, गोपाल शर्मा, गणेश घिमिरेलगायत लामो समयसम्म विदेश बसेर फर्केका युवाहरु पनि अहिले धमाधम कृषि, होटल व्यवसाय र पशुपालनतर्फ लागेका छन् । उनीहरु सबैले विदेश जाने सपना अब सधैँका लागि अन्त्य भएको र गाउँमा नै सञ्चालन गरेको उद्यमलाई निरन्तरता दिने बताए । कोरोना महामारीले गाउँघरमै र आफनो खेतबारीमा उत्पादनका कामहरु गर्ने क्रम बढाएको पनि छ ।
मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले युवाहरु कृषि र उद्यमसँग जोडिनु सकारात्मक भएको बताए । “पछिल्लो समय कृषि र उद्यमतर्फ युवा आकर्षण रहरलाग्दो देखिएको छ”, प्राविधिक बानियाँले भने, “पासपोर्ट थन्काएर कृषि र उद्यमतर्फ लागेका युवाहरुलाई सरकारले प्रोत्साहित गर्न सक्नुपर्छ ।”




Comments are closed.