जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुँदै

सल्यान । सल्यानमा जनता आवास कार्यक्रममार्फत ५० घर निर्माण हुने भएका छन् । दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो ।

तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण गरिनेछ । अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ ।

अहिले जिल्लामा घर निर्माण हुने स्थान र लाभाग्राही छनोटसँगै लाभग्राहीसँग सम्झौताको काम भइरहेको पूर्वाधार कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिए। जनता आवास कार्यविधिअनुसार लाभग्राहीको घर निर्माणका लागि स्थानीय तहले गरेको सिफारिसअनुसार आवश्यक प्रक्रियागत काम भइरहेको उनले जानकारी दिए ।

footwear zone

घर निर्माणका लागि प्रत्येक परिवारले रु तीन लाख ५० हजार प्राप्त गर्नेछन् । उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ । साथै कूल रकमको १० प्रतिशत खर्च लाभग्राहीले व्यहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यही आवमा निर्माण सम्पन्न गर्ने गरी जनता आवास निर्माण शुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।

लाभग्राही आफैँले जोतभोग गरेको जग्गामा सरकारले जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माण गर्न लागेको हो । ‘जनता अवास कार्यक्रम’ दलित, विपन्न परिवार, सीमान्तकृत समुदायलाई लक्ष्य गरी आव २०६६÷६७ बाट लागू गरिएको योजना हो । घरविहीन परिवारका लागि सङ्घीय सरकारले जिल्लामा ५० घर निर्माणका लागि रु एक करोड ७५ लाख विनियोजन गरेको छ ।

अहिले स्थानीय तहको सिफारिसका आधारमा लाभग्राहीसँग आवास निर्माणका लागि सम्झौता गर्ने काम भइरहेको कार्यालयका सबइञ्जिनीयर महेशकुमार वलीले जानकारी दिए । खासगरी दलित, विपन्न समुदायका लागि आवास निर्माण गरेर उनीहरुलाई आवासको सुविधा दिनु नै यसको उद्देश्य रहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.