गन्तव्य मध्यपुरथिमि अभियान शुरु, जनवरी १ मा सम्पदा पदयात्रा

भक्तपुर । मध्यपुरथिमिलाई उपत्यकाको आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ शुरु गरेको छ । मध्यपुरथिमि नगरपालिकाले ओस्ला नेपालको संयोजनमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचीन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो जनवरी १ मा सम्पदा पदयात्रा आयोजना गर्न लागेको जानकारी दिए ।

मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले गत वर्ष नै यो कार्यक्रम तय गरे पनि कोरोना भाइरस महामारीका कारण रोकिएको सम्पदा पदयात्रा कार्यक्रम जनवरी १ मा गर्ने गरी तयारी पूरा गरेको बताए । “मध्यपुरथिमिमा ऐतिहासिक प्राचीन बस्ती छ, यहाँका दैनिकी अझै पनि परम्परागत र जीवन्त छ, यहाँका ओझेलमा परेका मूर्त तथा अमूर्त कलाहरु अवलोकन गर्न सकिन्छ”, मध्यपुरथिमिका प्रमुख श्रेष्ठले भने, “यहाँका मठमन्दिर, पोखरी, पाटी, पौवा, ऐतिहासिक जात्रा, पर्व, कला, संस्कृति र आकर्षक पार्कहरुले भरिएका छन्, अब आन्तरिक तथा बाह्य पर्यटकले कम्तीमा पनि तीन घण्टा मध्यपुर घुमेर आनन्द लिन सक्छन् ।”

नगरपालिकाले अहिलेसम्म जीर्ण भएका ऐतिहासिक पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुईवटा पार्क पुनर्निर्माण गरिसकेको बताउँदै  यहाँका सम्पदाका साथै शङ्खधरचोकस्थित शङ्खधर पार्क र बोडेको कुमारी पार्कमा घण्टौँ रमाउन सकिने बताए । कोरोना महामारीलाई दृष्टिगत गर्दै सम्पदा यात्रामा ५०० सम्म सहभागी गराई स्वास्थ्य मापदण्डको पालना गराउने र मध्यपुरको पर्यटकीयस्थल एवं सम्पदाहरुको अवलोकन भ्रमण गराउने उनले बताए ।

footwear zone

दिवा तथा रात्रि पर्यटनको विकासका लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको बताउँदै नगरप्रमुख श्रेष्ठले गन्तव्य मध्यपुरथिमि अभियान शुरु भएको र मध्यपुरथिमि नगरपालिकाले नेपालमै पहिलोपटक सम्पदा संरक्षणमा योगदान दिएबापत हालै प्राप्त गरेको एसिएन टाउनस्केप अवार्ड–२०२० का अवसरमा घरघर, टोलटोलमा दीपावली गरेर पर्यटकीय क्षेत्रको पहिचान बढाउने बताए ।

कार्यक्रमको संयोजक ओस्ला नेपालका अध्यक्ष राजेश श्रेष्ठले पुस १७ गते शुक्रबार ‘मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य मध्यपुरथिमि पर्यटकीय हाते पुस्तिका’को वाग्मती प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र मध्यपुरथिमिका प्रमुख श्रेष्ठले संयुक्तरुपमा विमोचन गर्दै सम्पदा यात्रा शुरु गरिने पत्रकार सम्मेलनका जानकारी दिए । मध्यपुरथिमि शङ्खधर चोकबाट शुरु हुने तीन घण्टा लामो पदयात्रा विभिन्न सम्पदाको अवलोकन गर्दै बोडेको कुमारी मन्दिर एवं पार्कमा पुगेर समापन गरिने बताए ।

धिमे बाजा र बाँसुरी बाजाका साथ सम्पदा पदयात्रा शङ्खधर चोकबाट तछुटोल, विष्णुवीर, बालकुमारी, वामुनेटोल, लाछी टोल, लोकेश्वर मन्दिर, दथुटोल, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, भुँलाखेल, हात्तीमहाङ्काल, सिद्धिकाली, कुमाननी, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बाहाखा बजार, गार्चा चोक, द्योः छेँ नगदेश, सिद्धि गणेश, बुद्ध विहार, विष्णु तकीँ, नछुटोल, लाछी, भाँगु, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर, कुमारी द्योः स्क्वायरमा पुगेर समापन हुनेछ ।

सम्पदा यात्रामा नगरपालिकाका जनप्रतिनिधि, नेपाल पर्यटन बोर्ड, होटेल एसोसिएसन नेपाल ९हान०, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पहलमा विदेशी पर्यटक, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीको सहभागिता रहने भएको छ । कार्यक्रमका लागि नगरपालिकाले रु पाँच लाख ३५ हजार खर्च गर्ने भएको छ भने कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरुका साथै महाकारी नाच, अष्टमातृका नाचलगायत सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिने भएको ओस्ला नेपालका सचिव रोशन बज्राचार्यले जानकारी दिए ।

कार्यक्रममा हाते पुस्तिका प्रकाशनका संयोजक ज्ञानराम श्रेष्ठ, शङ्खधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले पर्यटनको विकासमा सरोकारवाला निकायको चासो र स्थानीयवासीको सहभागिता आवश्यक रहेको चर्चा गरे । सहभागीहरुले पर्यटन विकासका लागि निजी तथा साझेदारीमा लगानी भित्र्याउनुपर्ने, सार्वजनिक शौचालयदेखि होटेल, क्याफे, घरवासको व्यवस्था हुनुपर्नेमा जोड दिएको थियो ।

You might also like

Comments are closed.