पोखरा । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य केशव खत्रीले संघको आसन्न महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । नारायण कोइरालाको प्यानलबाट उनले उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
बर्तमान कार्यसमितिमा सदस्य भएर काम गरेको र आगामी कार्यकालमा पदाधिकारी भएर अझ प्रभावकारी काम गर्ने सोचबाट उम्मेदवारी दिन लागेको खत्रीले आर्थिक आवाजलाई जानकारी दिए । ‘कतिपय काम कार्यसमिति सदस्यमा रहेर गर्न सकिदैन,’ उनले भने, ‘कतिपय निर्णयहरु पदाधिकारी मिटिङबाट टुंगिने अवस्थामा सदस्यले ताली मात्रै बझाउनुपर्ने बाध्यता रह्यो । अब पदाधिकारीमा रहेर सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहितमा टेवा पुग्नेगरी काम गर्ने र सोही अनुसारको निर्णय गराउन भूमिका खेल्नेछु ।’
आफू सानो व्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघमा आएर साना तथा ठूला व्यवसायीलाई जोड्ने काम गर्ने उनले बताए । ‘संघमा माथिल्लो तहका व्यवसायीहरुको बाहुल्यता रहेकाले साना व्यवसायीहरुले आफ्नो प्रतिनिधित्व गर्न सकेका छैनन्,’ उनले भने, ‘अब त्यो अवस्था रहँदैन ।’

स्थानीय तह तथा सरकारसँग सहकार्य गर्ने, आवश्यक परे दबाब दिने र व्यवसायमैत्री काम गर्न बाध्य बनाउने, पार्किङ तथा घरभाडा समस्या समाधानमा पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । ‘घरभेटी र व्यवसायीका समस्यामा म सक्रिय रहनेछु,’ उनले भने ।
लामो समयसम्म व्यवसायमा आबद्ध रहेका युवा व्यवसायी खत्री फेन्सी तथा रेडिमेट व्यवसायी संघको निबर्तमान अध्यक्ष, वुद्धविशाल बजार व्यवसायी एसोसिएसनको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आबद्ध छन् ।




Comments are closed.