सडक महोत्सव : ‘अन्धकारमा उज्यालो दीप’

जमुना वर्षा शर्मा÷पोखरा । कोभिड–१९ का कारण लामो समयदेखि सुस्ताएको पोखराको पर्यटन व्यवसायमा हालै सम्पन्न सडक महोत्सवले अन्धकारमा उज्यालो ल्याएको महसुस गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

रेष्टुरेण्ट एण्ड बार एसोशियसन (रेवान)ले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै विगत २१ वर्षदेखि मनाउँदै आएको सडक महोत्सव यस वर्ष तीन दिनमात्र आयोजना गरी सम्पन्न गरेको छ । रेवानका प्रथम उपाध्यक्ष एवं होटल माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराईले सडक महोत्सवले पर्यटन क्षेत्रमा छाएको अन्धकारलाई चिर्न सफल भएको बताए ।

“लेकसाइड लामो समयदेखि सुनसान थियो, व्यवसायीमा निकै निरासा छाएको थियो, सडक महोत्सवले साना तथा ठूला सबै व्यवसायीलाई केही मात्रामा भए पनि उत्साह थपिदियो, पर्यटनमा देखिएको अन्धकारलाई चिर्दै उज्यालो ज्योति बनेको आभास हामीले ग¥यौं”, उउनले भने। तीन दिनको महोत्सवले पनि स्थानीय किसानको उत्पादनले समेत बजार पाउनलाई सघाउ पु¥याएको उनले बताए ।

footwear zone

अबको पर्यटन उकास्न आन्तरिक पर्यटकलाई नै लक्षित गरेर विभिन्न गतिविधि जोड दिनुपर्ने उनको भनाइ छ । रेवानका पोखराका अध्यक्ष लक्ष्मण बरालले कोभिड–१९ महामारीका बीच सम्पन्न महोत्सव सोचे भन्दा बढी सफल भएको बताए ।

“कोभिड– १९ का कारणले सोचे जस्तो दर्शक उपस्थिति हुँदैन कि भन्ने लागेको थियो, तर दर्शकको उपस्थितिले उत्साहित गरायो”, बरालले भने, “हामीले २१ वर्षदेखिको महोत्सवलाई तामझामविना तीन दिनमा सम्पन्न ग¥यौं, महोत्सवले व्यवसायीलाई उत्साहित बनायो, सँगै काठमाडौँ चितवन, बुटवल, भैरहवादेखिका आन्तरिक पर्यटक निकै रमाए ।”

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पनि महोत्सवले पोखराको पर्यटनलाई चलायमान बनाउँदै सकारात्मक सन्देश दिन सफल भएको प्रतिक्रिया दिए । उनले भने, “विदेशी पर्यटक नआएसम्म पर्यटन क्षेत्र चलायमान हुँदैन कि भनेर निरास बनेका व्यवसायीलाई आन्तरिक पर्यटकबाट पनि व्यवसायलाई उकास्न सकिन्छ भन्ने एउटा सन्देश महोत्सवले दिएको छ ।” उनका अनुसार लेकसाइडमा खुलेका होटलमा करीब ३० देखि ३५ प्रतिशत ‘अकुपेन्सी’ भएका थिए । पोखरामा करीब ७०० होटल छन् भने ४०० सङ्घमा आबद्ध छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पोखराको ब्राण्ड बनेको सडक महोत्सव कोरोना महामारीबीच सम्पन्न हुनु निकै सकारात्मक भएको बताए । पोखरा आसपासका पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका र लेकसाइडका होटल, साहसिक खेलले पनि विशेष सहुलियत प्रदान गरेकाले आन्तरिक पर्यटकलाई पोखरा घुम्ने सुनौलो अवसर भएको उनले सुनाए ।

उनले भने, “अहिले प्रत्येक होटलमा स्वास्थ्य मापदण्ड अपनाइएको छ, सहुलियत प्याकेज पनि उपलब्ध छ, मौसम पनि निकै खुलेकाले यो समय आन्तरिक पर्यटकलाई पोखरा घुम्न आउन म अनुरोध गर्छु, यो उहाँहरुका लागि सुनौलो अवसर हो, विशेष गरी शुक्रबार र शनिबारको समयलाई व्यवस्थापन गरेर कम बजेटमा पोखरा घुम्न सकिन्छ ।”

महोत्सवका संयोजक वसन्त गौतमले २२औं सडक महोत्सव कोरोना महामारीबीच भव्यरुपमा सफल भएको बताए । “हामीले पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरेका थियौँ, त्यसमा हामी सफल भएका छौँ, लामो समयदेखि बन्द पोखराको अधिकांश होटल रेष्टुरेण्ट महोत्सवले खुला भए केही दिन भए पनि चहलपहल बढ्यो”, गौतमले भने ।

उनका अनुसार खहरे चोकदेखि तीन किलोमिटर क्षेत्रमा महोत्सव गरिएको थियो । एक मञ्चमा गन्धर्व संस्कृति र तीन वटा मञ्चमा गण्डकी प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका वेषभूषासहितको सांस्कृतिक कार्यक्रम गरिएको थियो । छ वटा स्वास्थ्यसम्बन्धी कक्ष राखिएका थिए । केही कक्षमा स्याङ्जा र आसपासका सुन्तला र अर्गानिक उत्पादन, हस्तकला सामग्रीको बिक्री केन्द्र राखिएको थियो ।

कार्यक्रमका बीच भलिबल, डुङ्गा दौड प्रतियोगिता र टेनिस प्रतियोगिताका साथै पर्यटकीय गतिविधिका तस्बिर र भिडियो प्रदर्शन गरिएको थियो । ‘सडकैमै खाऊ, सडकै नाचौँ, सडमै रमाउँ’ भन्ने नाराअनुसार सडकमा विभिन्न परिकारको स्वादसँगै साङ्गीतिक कार्यक्रममा दर्शक रमाएका थिए । महोत्सवस्थलमा डिजिटल सेल्फि स्ट्याण्डमा दर्शक तस्बिर खिच्न झुम्मिएको देख्न सकिन्थ्यो । गौतमले करीब ४० हजार दर्शकले महोत्सव अवलोकन गरेको अनुमान गरिएको बताए ।

You might also like

Comments are closed.