पोखरा ।यसवर्षको लोकबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी आश गुरुङलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष समेत रहेका गुरुङलाई पोखरामा शनिबार एक कार्यक्रमकाबीच लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारको राशी ३५ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङ, लोकबहादुरपत्नी सीता गुरुङ, छोष अभिषेकलगायतले भाङ्ग्रा ओढाउनुका साथै फेटा गुथाएर खदा, मालासहित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
वरिष्ठ संस्कृतिकर्मी, चलचित्र निर्देशक, गीतकार तथा संगीतकार एवं तमू संसार त्रैमासिक पत्रिकाका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक लोकबहादुर गुरुङको छैटौं स्मृति दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष वेदबहादुर श्यामले बताए । उनका अनुसार लोकबहादुरको छैटौं स्मृति दिवस भदौ १९ गते भएपनि कोरोना जोखिका कारण रोकिएको कार्यक्रम पुस १८ गते शनिबार आयोजना गरिएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङ घर भई २०५९ बाट निरन्तर पत्रकारितामा क्रियाशील रही गुरुङ तथा नेपाली समुदायलाई पत्रकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको प्रतिष्ठानकी सचिव रोशनी गुरुङले बताइन् ।

प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते लोकबहादुर गुरुङको स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ । पोखराबाट प्रकाशित हुँदै आएको तमू संसार त्रैमासिक पत्रिका र लमजुङको अन्तरंग साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरुवात गरेका गुरुङले स्थानीय र राष्ट्रिय गरी दर्जनौ सञ्चार माध्यममा काम गरिसकेका छन् ।
पत्रकार गुरुङ पछिल्लो समय गीत लेखनमा पनि क्रियाशील छन् । उनले रचना गरेका गुरुङ गीतहरु ‘ए ङोल्स्यो ए ङोल्स्यो, गलबन्दी चैस्यो ङोल्स्यो’ लगायतको गीत गुरुङ गीत संगीतकै इतिहासमा सार्वधिक चर्चित गीतको सूचीमा पर्न सफल भएका छन् । उक्त अवसरमा लोकबहादुर गुरुङले रचना गरेका गीति संगालो ‘आधी लयँ’ अर्थात आधा जूनको गण्डकी विश्वविद्यालयका कूलपति डा। गणेशमान गुरुङले विमोचन गरे । पुस्तकबारे प्रतिष्ठानका विशिष्ट सदस्य गौरी गुरुङले टिप्पणी गरिन् । कार्यक्रममा पुरस्कृत आश गुरुङलाई भुजुङ युम्पो समाज पोखराका तर्फबाट उपाध्यक्ष मीना गुरुङ, सचिव केशबहादुर गुरुङ, क्व्होलासोंथर गाउँपालिका कार्यपालिका सदस्य गमीमाया गुरुङलगायतले भाङ्ग्रा, क्रेगी, खदासहित सम्मान गरेको थियो । कूलपति डा. गुरुङलाई प्रतिष्ठानले तामपत्रद्धारा सम्मान गरेको थियो ।




Comments are closed.