भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा पुनः शुरु

काठमाडौं । वाग्मती प्रदेशमा चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा खुला भएको छ । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले आजदेखि पुनः प्रयोगात्मक परीक्षा सञ्चालनमा ल्याएको हो ।

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङको स्वीकृतिमा सञ्चालित नेपालको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए ।

उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए।

footwear zone

उनले भने, “न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।”

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमीले चरम आर्थिक समस्यामा परेको हो । “सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र प्रयोगात्मक परीक्षा पुन:  सञ्चालन शुरु गरेका हौँ । हामी चरम आर्थिक सङ्कटमा छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भने।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा चन्द्रागिरि नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहेका उनले बताए ।

You might also like

Comments are closed.