निजी फर्म नवीकरणको अवधि थप, कहिलेसम्म गर्न सकिन्छ नवीकरण ?

समुन्द्रा घिमिरे÷काठमाडौं । सरकारले निजी (प्राइभेट) फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आगामी असार मसान्तसम्मको समय दिएको हो ।

यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । उक्त फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाई साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा रु २० लाख अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक रु दुई हजारका दरले र रु २० लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक रु पाँच हजारका दरले थप नवीकरण शुल्क तोकिएको बताए।

footwear zone

उक्त शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् ।

नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानूनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोवार निरन्तरताका लागि वैधानिक मानिदैन । उनका अनुसार यसअघि गत फागुनमा नवीकरण रोकिएका फर्मलाई असारमसान्तसम्मको समय दिइएको थियो । कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै गत चैतदेखि गरिएको बन्दाबन्दीका कारण उपभोक्ताले लाभ लिन नसकेपछि पुनः नवीकरणको समय दिइएको हो ।

पहिलो पटक दर्ता भएका निजी फर्मलाई पाँच वर्षको अवधि दिइएको हुन्छ । छठौँ वर्षको ३५ दिनसम्म सामान्य शुल्क र तीन तथा एक वर्षभित्र तोकिएको जरिवाना शुल्क भुक्तानी गरेर नवीकरण गर्न पाइने विभागले जनाएको छ । ६ वर्षपछि प्रत्येक दुई÷दुई वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । सामान्यता व्यापारिक प्रकृतिका निजी फर्म वाणिज्य विभाग र उत्पादन प्रकृतिका फर्म उद्योग विभागमा दर्ता हुँदै आएका छन् ।

You might also like

Comments are closed.