पोउवा संघको ३३ औं महाधिवेशनको समुद्घाटन

जीवन रक्षा कोषको कार्यान्वयन छिट्टै : अर्थमन्त्री किरण गुरुङ

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समुद्घाटन गरे। महाधिवेशनअन्तर्गत शनिबार हुने निर्वाचन कार्यक्रमले संघमा नयाँ नेतृत्वसमेत चयन गर्दैछ ।

महाधिवेशनको उद्घाटन गर्दै गण्डकीका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी सरकारले स्थापना गरेको व्यवसाय जीवन रक्षाकोषलाई छिट्टै कार्यान्वयनमा ल्याइने बताउनुभयो । गण्डकी प्रदेश सरकारले बजेट भाषणमार्फत् कोभिड–१९ को प्रकोपबाट पीडित भएका व्यवसायीको जीवन रक्षाको लागि भन्दै १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष घोषणा गरेको थियो । ‘गण्डकीमा रहेका साना र मझौला व्यवसायलाई लक्षित गरी हामीले यसको ( जीवन रक्षाकोषको ) कार्यविधि बनाएका छौँ’, कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने,‘हामी यो कार्यक्रमलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ भने अर्को आर्थिक वर्षमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

उनले जीवन रक्षा कोषलाई प्रभावकारी बनाउन सरोकारवालासँग सहकार्य गरिनुे प्रतिवद्धता पनि व्यक्त गरे । पारदर्शीतालाई कडाईका साथ लागु गर्नुपर्छ भन्ने मान्यताका कारण सो कोष संचालनमा ढिलाइ भएको बताउँदै उनले अगाडि भने,‘पारदर्शीतालाई कडाईका साथ अघि बढाउँदा तथा सुशासनलाई जोड दिँदा बितरण र अनुदानका काम ढिलो हुँदो रहेछ ।’ उनले आर्थिक विकासको लागि राजनीतिक स्थिरता जरुरी भएको स्वीकार्दै संसद विघटन र निर्वाचन घोषणाले केही अन्यौलता थपेको बताए । आफ्नै पार्टीभित्रबाट सरकार चलाउन नदिएर अस्थिरता निम्त्याउन खोजेपछि बाध्य भएर प्रधानमन्त्रीले जनताकहाँ जान मध्यावधि चुनाव घोषणा गर्नु परेको उहाँको जिकिर थियो । जनताको बीचमा जानु र ताजा जनादेश लिनु भनेको तानशाही प्रवृत्ति नभएको बताउँदै उनले अगाडि भने,‘चुनावमा खर्च हुने पैसाले देशको अर्थतन्त्र तहसनहस हुँदैन ।’ फरक प्रसंगमा उहाँले संघीय सरकारले पनि कोभिड–१९ को खोप ल्याउने तयारी गरिरहेको र गण्डकी प्रदेश सरकारले पनि यहाँका नागरिकलाई निःशुल्क खोपको व्यवस्थाको तयारी थालेको बताए । गण्डकी सरकारले यतिबेला यहाँ कुन भ्याक्सिन ल्याउन उपयुक्त हुन्छ भन्नेबारे पनि अध्ययन गरिरहेको उनले बताए ।

footwear zone

यसअघि बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले संसद पुनःस्थापना वा चुनाव नै भएपनि देश आर्थिक रुपले पछि पर्ने अवस्था आउने बताएका थिए । देशले २–३ वर्षमा निर्वाचन धान्न सक्दैन भन्दै उहाँले चुनावमा कालोधनको प्रवेश तथा चुनावताका हुने भ्रष्टाचारले प्रश्रय पाउने आशंका पनि व्यक्त गरे । उनले संघीय संसद भंग भएसँगै प्रदेश सरकार विघटनको हल्ला चल्दा निजी क्षेत्रमाथि पिरलो थपिएको जनाए । ‘संसद विघटन संवैधानिक÷असंवैधानिक हाम्रो चासोको विषय होइन’, उनले भने,‘के राजनीतिक दलहरुले आर्थिक विकासमा चासो नदेखाएकै हुन् त ? जनजिविकाको बाटो नहेरेकै हो त ?’

कार्यक्रममा भर्चुअल रुपमा जोडिएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठले कोभिड–१९ ले जर्जर बनाएको अर्थतन्त्रलाई सबै मिलेर माथि उठाउनुपर्ने बताए ।े कोभिड–१९ ले निजी क्षेत्र प्रताडित भएकाले कर्जाको ब्याज चुक्ता गर्ने समयसीमा बढाउन सरकारसँग आग्रह पनि उनले गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कुविरकुमार श्रेष्ठले राजनीतिक अस्थिरताले लगानीको वातावरण खल्बल्याएको बताउनुभयो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दामु अधिकारीले छिमेकी देशमा पनि कोभिड–१९ विरुद्धको खोप लगाउने प्रक्रिया सुरु भएको स्मरण गर्दै छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न एवं नागरिकको जीवन रक्षाप्रति संवेदनशील बन्न नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग आग्रह गरे । उनले राजनीतिक अस्थिरताले निजी क्षेत्र चिन्तित भएको बताउँदै राजनीतिक दलहरुलाई धैर्य नगुमाउन र सहमतिका साथ अघि बढ्न आग्रह गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले कोभिड–१९ ले जर्जर बनाएको उद्योग÷व्यवसाय उत्थानमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । पोखरा पर्यटन परीषदका अध्यक्ष गोपीबहादुर भट्टराईले साना व्यवसायीले समयमा पुनर्कर्जा नपाए धेरै व्यवसायी पलायन हुने अवस्था भएको बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले कोभिड–१९ ले निम्त्याएको संकटबाट उद्योगी÷व्यवसायी मुक्त हुन नसकेको बताउँदै सरकारले लगानी मैत्री वातावरण निर्माणमा ध्यान दिँदै अर्थतन्त्र माथि उकास्नेतर्फ प्रयत्न गर्नुपर्ने बताए । कार्यक्रमको बन्द सत्रमा आफ्नो मन्तव्य राख्दै संघकी उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालको निजी क्षेत्रलाई माथि उठाउन सरकारले विशेष कार्यक्रम ल्याउन माग गरिन् ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले कार्यक्रम संचालनको क्रममा बोल्दै कोभिडले सबैभन्दा प्रभावित बनाएको पर्यटन माथि उकास्न, लगानीको वातावरण बनाउन तथा नयाँ संभावनाहरुको खोजी गर्न आग्रह गरे । भर्चुअल माध्यमबाट भएको संघको बन्द सत्रले महासचिव अर्जुन पोखरेलले प्रस्तुत गर्नुभएको संघको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ ।

उत्कृष्ट व्यवसायी सम्मान
पोखरा उद्योग वाणिज्य संघले वितवरण गर्ने पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट व्यवसायी सम्मान २०७७ बाट विनायक फ्रेस हाउस चिप्लेढुंगा र गण्डकी मेसिनरी प्रोडक्टस् औद्योगिक क्षेत्र सम्मानित भए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विनायकका कैलाश पालिखे र गण्डकी मेसिनरीका युवराज शर्मालाई सम्मानित गरे । संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेको संयोजकत्व तथा संघका साधारण सदस्य राजेन्द्र बाटाजु,बलभद्र नकर्मी ज्ञानेश्वर श्रेष्ठ सदस्य रहेको मूल्याङ्कन समितिको सिफारिसमा उनिहरु सम्मानित हुनुभएको हो ।

लक्ष्मी विद्यापदक वितरण
यता लक्ष्मी हाउसद्धारा स्थापित तथा पोखरा उद्योग वाणिज्य संघबाट संचालित लक्ष्मी विद्यापदकबाट यो वर्ष बिबिएतर्फ लाग्राण्डी कलेजका डिक्सन लिम्बु र विविएसतर्फ गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसकी छात्रा सुप्रिया गुरुङ नगद, प्रमाणपत्र र मेडलसहित सम्मानित भए ।

You might also like

Comments are closed.