मौसम सफा भएसँगै गर्मी महसुस

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । “अब गर्मी नै शुरु भई सकेको भने होइन केही दिन मौसम सफा भएकाले दिउँसोकोे अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ”, मौसमविद् मानन्धरले बताए ।

मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्यो भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत साता काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधारणले प्रदूषण बढेको समयममा पनि चिसो महसुस गर्न पाएनन् । गत वर्षमा डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । मङ्सिर, पुस र माघ महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ ।

footwear zone

यस वर्ष माघ महिना शुरु हुन लाग्दा पनि हिउँदे वर्षा भएको छैन् । आइतबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । आज पनि काठमाडौंको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस नै रहेको छ । त्यसैले गर्मी अनुभव भएको हो । भोलिदेखि कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना रहेकाले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

You might also like

Comments are closed.