सार्वजनिक सुनुवाइमा नगरवासीका गुनासै गुनासा

दमौली । “मल कहिल्यै पनि समयमा आएन, मल कहाँ पाइन्छ भन्ने जनतालाई थाहा पनि छैन । भौतारिएर दमौली बजार पूरै घुम्दा पनि मल नपाउँदा जनतालाई दुःख भयो”, तनहुँको व्यास नगरपालिका–१ देबबहादुर गुरुङले गुनासो राख्दै भने, “बीउ पनि कहिल्यै पनि समयमा आउँदैन ।”

नगरपालिकाले केही समय अगाडि मात्रै आलुको बीउ वितरण ग¥यो । उक्त बीउ लिनका लागि नगरवासीले सास्ती भोग्नुपरेको गुरुङले सुनाए । उनले भने, “वडाले बीउ लिनका लागि सूचना ग¥यो, हामीले सोहीबमोजिम वडामा टिपायौँ तर आलुको बीउ लिनका लागि ठूलो हण्डर खानुप¥यो ।” वडाले आलु बिक्री गर्ने बिक्रीकर्तालाई सम्पर्क गर्न आग्रह गरे पनि पटक–पटक फोन गर्दा सुनुवाइ नभएको गुरुङले बताए । तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना गुनासो राख्दै गुरुङले नगरपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताए ।

व्यास नगरपालिका–६ का नवराज न्यौपानेले कृषि शाखाले उपलब्ध गराउने अनुदान ग्रामीण भेगसम्म नपुगेको गुनासो गरे । “अनुदान दिने व्यवस्था न्यायोचित भएन, नगरपालिकाले अनुदान वितरणका क्रममा नगरवासीलाई सूचना प्रवाह गरिएन”, न्यौपानेले भने । नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचिँदा पनि नगरपालिका चुप लागेर बसेको उनले आरोप लगाए ।

footwear zone

न्यौपानेले नगरपालिकामा आएर योजना सम्झौता गर्ने क्रममा ढिलाइ हुँदा सास्ती खेप्दै आउनुपरेको बताए । “धाउँदा धाउँदा तिघ्रा कामिसक्दा र चप्पल फाटिसक्दा पनि योजना सम्झौता हुन सक्दैन”, उनले भने । वर्षायाममा बाढीपहिरोबाट जनता पीडित भइरहँदा वडाध्यक्षहरुले अनुगमन नगरेको उनले गुनासो गरे ।

व्यास नगरपालिका–१ का ज्ञानेन्द्र बसौलाले वडागत बजेट विवरणमा दामासाही र हचुवाको भरमा बजेट वितरण गरिँदा न्यायोचित नभएको गुनासो गरे । “जनसङ्ख्या र भूगोललाई प्राथमिकता दिएर बजेट वितरण गरिनुपर्नेमा हचुवाका भरमा बजेट विनियोजनले न्यायोचित भएन”, उनले भने ।

व्यास नगरपालिका–२ का इमकुमार मल्लले बजार क्षेत्रमा सार्वजनिक जग्गा हराउँदै जाने क्रम बढेकाले त्यसतर्फ ध्यान दिन नगरपालिकालाई आग्रह गरे । व्यास नगरपालिका–१ का भरप्रसाद पन्थले घरको नक्शा बनाउने क्रममा एउटै बाटोको दूरीमा पनि फरक–फरक मापदण्ड कायम गरेर स्वीकृति दिइएको बताए ।

नगरवासीको गुनासो सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जनताको चासोसँग जवाफदेहीतालाई विकास गरिने बताए । प्रत्येक वडामा भएका सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिको प्रतिबद्धता व्यक्त उनले व्यक्त गरे । समयमै मल र बीउ नपाएको विषय अत्यन्तै संवेदनशील रहेकाले यसतर्फ नगरपालिकाको ध्यान गएको र यसलाई सुधार गर्दै लैजान नगरपालिका प्रतिबद्ध रहेको न्यौपानेले बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख डा राजु पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य, लेखा प्रमुख हेमन्त गुरुङले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना विवरण सार्वजनिक गरेका थिए ।

You might also like

Comments are closed.