विराटनगर । तराईको कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरो होस वा चर्को घाम वा झरी नै किन न होस, ७० वर्षीय पच्चुराम हरिसन सडक पेटीमा सधैं व्यस्त भेटिन्छन् । पुराना र फाटेका चुत्ता र चप्पल सिलाउन औंला चलाइरहन्छन् । प्रायः ग्राहकबाट उनी घेरिएका हुन्छन् ।
विराटनगर महानगरपालिका गुद्री बजारस्थित हनुमान मन्दिर छेउमा बसेर विगत ४० वर्षदेखि जुत्ता, चप्पल सिलाउने र पोलिस लगाउने काम गरेर उनको दिन बित्ने गरेको छ । “यो आफ्नो पुख्र्यौली पेशा हो, बुबाबाट हेर्दाहेर्दै सिकियो, अहिले फाइदै भएको छ”, उनले भने, “दुःखमा जीवन धान्ने सीप नै रहेछ ।” उनीकहाँ जुत्ता–चप्पल सिलाउनेको भीड नै लाग्छ ।
जुत्ता–चप्पल सिलाएबापत उनले रु २० देखि एक सय ५० सम्म लिने गरेको छ । “यही सीपले पेट पालेका छौं”, उनले भने, “यो पेशा अहिले आम्दानीका एउटा भरपर्दा माध्यम बनेको छ ।” कुनै तालीम नलिएको हरिसनसँग पेशाका लागि पुग्ने सीप छ । त्यही सीप आफ्नो परिवारको भविष्य निर्माणमा खर्चिन सडक पेटीमै बसेर उनी काम गर्छन् । उनले यो पेशाबाट दैनिक कम्तीमा रु ५०० कमाउने गरेको बताए । उनले पुरुष ग्राहकभन्दा महिला ग्राहक बढी पैसा दिने गरेकाले उनीहरुप्रति मेरो सम्मान सधैँ नै उच्च छ भने ।

“प्रचण्ड गर्र्मी होस् वा बर्सात् वा हिउँद हामीलाई केही प्रभाव पर्दैन”, उनले भने, “हामी एउटा छाता झुन्ड्याउँछौँ र आफ्नो काममा व्यस्त हुन्छौं ।”




Comments are closed.