बाँदरबाट सुन्तला जोगाउन सास्ती

पाल्पा । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । सुन्तला बगानमा बाँदर पसेर नोक्सानी गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको वडाध्यक्ष तथा किसान हुमानसिंह कार्कीले गुनासो गरे । झण्डै ४०० किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको उनले बताए। “घरदेखि तल्लोबारीमा तलबाट बाँदर आएर नोक्सानी गरेको थाहा हुँदैन, त्यसैले त्यो बारीको सुन्तला हरियोमा नै बिक्री गरियो”, उनले भने ।

footwear zone

गत वर्ष झण्डै रु चार लाखको सुन्तला बिक्री भएको बताउने कार्की यसपालि रु एक लाखको हाराहारी बिक्री हुने अवस्था रहेको बताए । बाँदरको समस्या र यसपालिका सुन्तला उत्पादनमा समेत कमी आएको हो । स्थानीय बासिन्दा डिलमाया गाहाका अनुसार वन क्षेत्रबाट बाँदर आएर सुन्तला खेतीमा क्षति गर्न थालेपछि समस्या हुँदै आएको छ । मकै बाली उत्पादन गर्न छाडेर सुन्तला खेतीमा मात्र व्यस्त भएका गाहाको प्रमुख आम्दानीको स्रोत सुन्तला खेती हो । पहेँलपुर सुन्तला बगानमा नै बाँदर पसेर खाने र नोक्सानी गर्ने समस्या बढेको गाहा बताउछन् ।

पछिल्लो समय गाउँमा बाँदरको बिगबिगी भए पनि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ । जिल्लाका अधिकांश स्थानमा व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आए पनि बाँदरबाट किसान चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाइ छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुङ, छहरा, सोमादी, रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला खेती हुँदै आएको छ । अन्नबालीमा बाँदरले नोक्सानी गरेपछि किसान सुन्तला खेतीप्रति आकर्षित बनेका थिए ।

स्थानीयवासी जङगबहादुर आलेका अनुसार वनबाट बस्तीमा आएका बाँदर धपाउन मुस्किल भएको छ । उनले बाँदर धपाउन अहिले एक्लै सकिने अवस्था नरहेको बताए । महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने र जिस्काउन थालेपछि उनी त्रसित बनेका छन् । पूर्वखोला गाउँपालिका–१ सिलुवामा बाँदरले अन्नबाली सखाप पारेपछि बस्तीबाट नै स्थानीय बासिन्दा विस्थापित भएका छन् । पाँच÷सात वर्षको अवधिमा १०÷१२ घर गाउँबाट विस्थापित हुन थालेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए ।

जिल्लाका अधिकांश स्थानमा बाँदर धपाउनका बन्दुक प्रयोग गरे पनि बाँदर भागेको छैन । बाँदरले बस्ती नजिक आएर किसानले उत्पादन गरेका अन्नबाली, तरकारी, घरभित्र राखिएका वस्तु क्षति गर्न थालेपछि किसान चिन्तित छन् । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदर, मृग, दुम्सी बँदेल र पक्षीको सङ्ख्या बढ्दो छ ।

दुःख गरी अन्नबाली उत्पादन गरे पनि पाकेपछि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गरेपछि समस्यामा परेको किसानको गुनासो छ । बाँदरले खाँदासम्म खान्छ, बाँकी नखाने, क्षति गर्ने गर्छ, मृग र दुम्सीले अहिले खेतीमा प्रवेश गरी नोक्सानी गर्न थालेका छन् । पहिला बाँदर, मृग, दुम्सी र बँदेल बस्ती नजिक देखिएका थिएनन् । अहिले खेतबारीमा नै देखिन थालेको स्थानीय बासिन्दा राधाकृष्ण आलेले बताए ।

You might also like

Comments are closed.