सुन्तलाको बगैँचा मासेर ड्रागन

सानेबहादुर नेपाली÷तनहुँ ।  रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर यहाँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गरेका छन् । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री मिलेर ड्रागनखेती शुरु गरेका हुन् । एचडी ड्रागन फ्रुड एण्ड फर्म दर्ता गरी बाँझो जग्गामा ड्रागनखेतीतर्फ लगाएको कृषक श्रेष्ठ बताउछन् । सुन्तलाखेतीको तुलनामा दुःख कम हुने, बजारमा माग अत्यधिक रहेको र आम्दानी पनि राम्रो रहेपछि यसतर्फ उनिहरु आकर्षित भएका हुन् । “सुन्तला बगैँचाको रुख मर्दै जान थालेपछि यस खेतीतर्फ लागेको हौँ”, उनले भने, “भारतीय सेनाको जागिरबाट अवकाश लिएपछि देवेन्द्रसँग मिलेर यो खेती गरेको हो ।” एउटा ड्रागनको बोटले १० वर्षसम्म फल दिने र बजारमा खेर गएका साना तथा ठूला सवारी साधन टायरको पनि सदुपयोग भएको उनिहरुको भनाइ छ ।

खेर गएको टायरमाथि पैसा फलाउने सपना बोकेर शुरुमा करीब रु ११ लाख खर्च गरी ड्रागनखेतीतर्फ थालिएको हो । ड्रागनखेतीका बारेमा युट्युबको सहयोग लिँदा पानीको मात्र कम भएको ठाउँमा पनि खेती गर्न सकिने जानकारी पाएपछि ढुक्क भएर लगानी गरिएको उनिहरु बताउछन् । पूर्वमन्त्री लोकेन्द्र विष्टले सञ्चालन गरेको फर्म र राजधानीबाट प्रतिबिरुवा रु ७०० का दरले एक हजार ६०० वटा ड्रागनका बिरुवा ल्याइएको थियो । निर्माण गरिएको सिमेन्टको पिल्लरमाथि थोत्रो टायर राखिने र त्यही टायरमाथि उक्त फल फल्ने गरी व्यवस्थापन गरिएको छ ।

ड्रागन फल मीठो त छँदैछ औषधिको दृष्टिकोणले अति उपयोगी रहेको छ । यो फल खाएपछि मधुमेह र मुटुरोगीलाई लाभदायक हुन्छ भने पेट सफा गरी कब्जियत हुनबाट जोगाउँछ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिक्स, वाइन र ब्रान्डी बनाउन सकिन्छ । पछिल्लो समय बजारमा यस फलको माग बढ्दै गएको छ ।

footwear zone

कृषकद्वयले ड्रागनखेती गरेपछि स्थानीयवासी पनि यसतर्फ आकर्षित हुन थालेका छन् । खेती गर्ने तरिका सिक्नका लागि स्थानीय बासिन्दा दिनहुँ फर्ममा आउने गरेको कृषक बताउँछन् । ड्रागन सिउडी प्रजातिमा पर्छ । यसको फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ भने २० देखि ३० डिग्री उचाइमा खेती उत्तम हुने गर्दछ । एक रोपनी क्षेत्रफलमा ४० वटा ड्रागनका बिरुवा लगाउन सकिन्छ । एक मौसममा तीनदेखि चारपटकसम्म फलबाट आम्दानी लिन सकिन्छ । नेपालमा ड्रागन फ्रुट प्रतिकिलो रु २०० मा बिक्री हुने गरेको व्यापारी बताउँछन् । पछिल्लो समय ड्रागन फ्रुट स्वास्थ्य र आर्थिक किसिमले उत्तिकै महत्वपूर्ण भएकाले यसको खेतीतर्फ मानिसको आर्कषण बढ्दै गएको वडाध्यक्ष निरबहादुर खड्काले बताए ।

You might also like

Comments are closed.