लहान । शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्दै पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्नुहुँदै उनले अझै पनि विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने थलोका रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताए।
विद्यालय प्रविधिमैत्री नभई शैक्षिक गुणस्तर र सुशासन कायम हुन नसक्ने बतादै उनले गुणस्तरीय शिक्षा र सुशासन कायम गर्न विद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताउँदै उनले बजारमा बिक्री हुने खालको शिक्षाको जरुरी रहेको औँल्याए ।

धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न नगर शिक्षा सम्मेलनबाट २५ बुँदे ‘नगर शिक्षा घोषणापत्र २०७७’ जारी गरिएको छ । शिक्षाको प्रसार एवं सवलीकरण, व्यावसायिक र गुणस्तरीय शिक्षाका लागि नगर शिक्षा सम्मेलन’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा नगर क्षेत्रमा ३३ सामुदायिक, २३ संस्थागत छ धार्मिक विद्यालय सहभागी रहेको शिक्षा शाखाले जनाएको छ ।




Comments are closed.