पञ्चेबाजा संरक्षणका लागि बाजा हस्तान्तरण

वालिङ । लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ ले विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रमअन्तर्गत गह्रौँकालिका पञ्चेबाजा समूह पैदीलाई १० थान बाजा हस्तान्तरण गरेको हो ।

आफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भइरहेका बेला वडा कार्यालयले बाजा संरक्षणका लागि एक लाख ३० हजारको लागतमा १० थान बाजा खरीद गरी हस्तान्तरण गरेको वडाध्यक्ष पाण्डुकुमार थापाले बताए । “गह्रौँकालिका पञ्चेबाजा समूहले वडा कार्यालयमा बाजाको माग गरेकाले वडाले बाजा संरक्षण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी सहयोग गरेका हौँ”, वडाध्यक्ष थापाले भने, “लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजाको संरक्षण गर्न सकियोस् र पुरानो पुस्ताको सीप तथा कलालाई नयाँपुस्तामा हस्तान्तरण गर्नुका साथै व्यावसायिकतामा जोड दिनका लागि सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

वडामा रहेका अन्य बाजा समूहलाई आवश्यक सीप तथा तालीम, आवश्यक पोशाक हस्तान्तरण गरिएको र आगामी दिनमा पनि बाजा संरक्षणका कार्यक्रम सञ्चालन गर्दै लगिने वडा अध्यक्ष थापाले बताए ।

footwear zone

वडाको बजेटबाट सहनाइ, ट्याम्को, नरसिंहा, ढोलक, झुर्मासहितका एक सेट नौमती पञ्चेबाजा हस्तान्तरण गरिएको हो । “पछिल्लो समय विदेशी कलासंस्कृति र रीतिरिवाजको नक्कलका कारण नेपाली कलासंस्कृतिमाथि असर गरिरहेको छ”, वडाध्यक्ष थापाले भने, “हाम्रो कलासंस्कृतिको संरक्षण र जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व ठानेर बाजा हस्तान्तरण गरेका हौँ ।”

पुराना कलासंस्कृति हराउन नदिनका लागि वडा कार्यालयले नौमती बाजा उपलब्ध गराएर सहयोग गरेको समूहका अध्यक्ष कमल परियारले बताए । “पुरानो पुस्ताको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि समूहमार्फत युवालाई सक्रिय बनाएर सीप सिकाइएको छ”, अध्यक्ष परियारले भने, “यहाँका युवाले विभिन्न मेला महोत्सव, धार्मिक तथा अन्य कार्यमा सहभागी भई बाजा बजाउँदै आएका छन् ।” कलासंस्कृतिको संरक्षणमा यो समूह तथा टोलका १६ घरपरिवारको सामूहिक प्रतिबद्धतासँगै सहकार्य रहेको अध्यक्ष परियारले बताए ।

You might also like

Comments are closed.