बुटवल । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले नाडा अटो सो आगामी भदौमा गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सन् २०२० मा नाडा अटो सो गर्न नसकिएको जानकारी दिदै अध्यक्ष कृष्णप्रसाद दुलालले २०७८ भदौंमा भव्य रुपमा नाडा अटो सो गर्ने जानकारी दिए ।
लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा तथा अधिवेशनका अवसरमा शनिबार बोल्दै अध्यक्ष दुलालले आगामी वर्ष हुने अटो सो अन्तर्राष्ट्रियस्तरको हुने जानकारी दिए । आगामी वर्ष हुने अटो सोले अटो व्यवसायमा नयाँ उत्साह ल्याउने उनले विश्वास व्यक्त गरेका छन् ।
‘नाडा अटो सो ब्राण्डका रुपमा स्थापित भएको छ,’ उनले भने, ‘यस वर्ष कोरोनाका कारण सो गर्न सकिएन । आगामी वर्ष अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने तयारीमा हामी जुटिसकेका छौं ।’

कार्यक्रममा बोल्दै अध्यक्ष दुलालले विश्वव्यापी रुपमा देखिएको कोरोनाका कारण समग्र अटोमोबाइल्स व्यवसायी प्रभावित भएको उनले बताए । प्रभावित व्यवसायमा पुनर्जागरण ल्याउन र व्यवसायीलाई उत्साही बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
अटोमोबाइल्स व्यवसायमा देखिएको समस्या समाधानका लागि नाडा सक्रिय रहेको र सरकार लगायत सरोकारवालालाई दबाब दिइरहेको दुलालले बताए । नाडाले सातै प्रदेशमा कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि व्यावसायिक नेतृत्व विकास लगायतका विविध कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।




Comments are closed.