बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यअघि बढ्छ: ऊर्जामन्त्री रायमाझी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले आफूले अघिल्लो पटक ऊर्जामन्त्री हुँदा आयोजनाको कामलाई अघि सारेको हुँदा अब छिट्टै नै शिलान्यास गरी निर्माण कार्य अघि बढाइने बताएका हुन् ।

मन्त्री रायमाझीले तत्कालीन समयमा आफू पटक–पटक निर्माणस्थलमै गएर विभिन्न समस्या तथा चुनौती हटाउने कार्यमा जुटेको भए पनि छोटो समयमै सरकार ढलेका कारण निर्माण कार्य अघि बढ्न नसकेको बताए । “अघिल्लो पटक पनि केपी शर्मा ओली प्रधानमन्त्री र म ऊर्जामन्त्री थिएँ”, उनले भने, “संयोगले अहिले हामी पुनः त्यही जिम्मेवारीमा छौँ, अब आयोजना निर्माणको काम अघि बढ्छ ।”

footwear zone

उनले विभिन्न जलविद्युत् आयोजनाको निर्माण कार्य चलिरहेको भन्दै मुलुक अब विद्युत् बिक्री गर्ने अवस्थामा पुगेको बताए । “उत्पादन भएको विद्युत् बिक्री गर्न ठाउँठाउँमा ट्रान्समिसन लाइन निर्माण गर्नुपर्छ”, उनले भने, “अन्तरदेशीय कनेक्टीभिटीलाई विस्तार गर्न नसके उत्पादन भएको विद्युत् यसै खेर जाने निश्चित छ ।” मन्त्री रायमाझीले आफू अघिल्लो पटक ऊर्जामन्त्री हुँदा ऊर्जा सङ्कट निवारणका लागि ९९ बुँदे कार्ययोजना बनाई लागू गरेकै कारण विद्युत् भार कटौती अन्त्य सम्भव भएको स्पष्ट पारे ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले घरजग्गाको ह्रासकट्टी र लाभ कर लिँदा स्थानीयवासीले उल्टै रकम बुझाउन पर्ने परिस्थितिको सिर्जना भएकाले ह्रासकट्टी र लाभकर बिना जग्गाको मुआब्जा दिनुपर्ने बताए । उनले जलविद्युत् आयोजनाको निर्माण कार्य अघि नबढ्दा जनता प्रताडित बनिरहेको भन्दै जग्गाको मूल्याङ्कन पनि निकै कम भएको बताए ।

एक हजार २०० मेगावाटको आयोजना निर्माणका लागि करिब रु ४० अर्ब सङ्कलन भइसकेको छ । आयोजना निर्माणका लागि अधिग्रहण गरेको घरजग्गाबापत सरकारले रु ३४ अर्ब प्रभावित क्षेत्रका नागरिकलाई वितरण गरिसकेको छ ।

You might also like

Comments are closed.