जनक श्रेष्ठ/लमजुङ । कोरोना भाइरस सङ्क्रमणका कारण प्रभावित बनेका सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण कार्यलाई अहिले तीव्रता दिइएको छ ।
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको यस आयोजनाले दिनरात आयोजनाको निर्माण कार्यलाई तीव्रता दिँदै आइरहेको छ ।
लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट यो आयोजनाको काम तीव्रगतिमा भइरहेको आयोजनाले जनाएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो आयोजना हो । हालसम्म ८२ प्रतिशत निर्माण कार्यसम्पन्न भएको र आगामी भदौ महिनासम्म विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ कामलाई तीव्रताका साथ अघि बढाइएको आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले बताए । उनले भने, “हामीले दिन र रातिको समयमा पनि निर्माण कार्यलाई अघि बढाइरहेका छौं ।”

कूल रु आठ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटर मध्ये ३७ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ । आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । आयोजनामा सबै गरेर ५०० कर्मचारी रहेका छन् ।
आयोजनाका साइट इञ्चार्ज सिग्देलका अनुसार एक हजार ७०० मिटर इनटेक सुरुङ मार्गमध्ये ५६० मिटर खन्न बाँकी रहेको छ । दुवैतिरबाट खन्ने काम भइरहेको र एक महिनामा एकतर्फमात्र ७५ मिटर निर्माण सम्पन्न हुने गरेको छ । दुवैतिरबाट १५० मिटर एक महिनामा सकिन्छ, यसरी अघि बढिरहँदा आगामी जेठसम्म यसको काम सम्पन्न हुने उनको भनाइ छ । त्यस्तै, अर्को साइटको एक हजार ४०० मिटरको सुरुङको फिनिसिङको काम भइरहेको छ । एक हजार २०० मिटरको सुरुङको कामसमेत अन्तिम चरणमा पुग्न लागेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार अब यस आयोजनामा ७०० मिटर पाइप बिच्छ्याउन बाँकी छ । त्यस्तै, पावर हाउसको दुई तला भवन निर्माण सम्पन्न भएको र वरिपरि पर्खाल लगाउने कार्य भइरहेको छ । आयोजनाले गत भदौ महिनामै विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो तर विविध कारणले गर्दा निर्माण कार्य लम्बिएपछि आगामी भदौसम्ममा भने विद्युत् उत्पादन गर्ने आयोजनाका साइट इञ्चार्ज सिग्देलले भने ।
विसं २०७५ मा निर्माण कार्य सम्पन्न नभएपछि निर्माण अवधि थप गर्दै गत असारसम्मको सम्झौता गरेको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि आगामी विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको भए पनि सोभन्दा अघि निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको मात्र रु २७ करोड लगानी छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्खायाममा चार रुपैयाँ ८० पैसामा बिद्युत खरिद गर्ने (पिपिए) सम्झौता भएको छ ।
यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् । यस करिडोरमा यसबाहेक चार वटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सोमध्ये हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजना हो । यस आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण कार्य सम्पन्न गर्दै आगामी चैत महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीले निर्माण गरिरहेको १२.१ मेगावाटको दोर्दी–१, छयाङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन रहेका छन् । यीमध्ये माथिल्लो दोर्दी ‘ए’ ले पनि आगामी चैत महिनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । अन्य आयोजनाले समेत निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
जिल्लामा यसअघि बेँसीशहर नगरपालिका–१ दलालमा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र, मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’, ५ मेगावाटको सिउरी, ४।४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दीलगायत आधा दर्जन आयोजनाले विद्युत् उत्पादन गरिसकेको छ ।




Comments are closed.