काठमाडौं । आइएमई ट्राभल्सले स्थापनाको आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ट्राभल्सले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय भवन निर्माणाधीन सहयोग गरेको छ । १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा बिहीवार आयोजित एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवं अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति थियो ।
साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै विभिन्न ग्राहकमूखी योजना ल्याएको छ । बैंकिङ, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफूलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समूहले पर्यटन क्षेत्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

२५औँ वार्षिकोत्सवका अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको समग्र बस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायीलाई पर्यटन विकासका लागि जुट्न आग्रह गरे । ‘कोरोना महामारीबीच स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझ विशेष भूमिका खेल्नुपर्छ,’ उनले भने ।
आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन विकासका लागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन विकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्रय पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिँदै यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउदै समस्त ट्रेड साझेदारहरु, ग्राहकहरू र शुभचिन्तकबाट निरन्तर प्राप्त समर्थन र विश्वासका लागि धन्यवाद दिदै आगामी दिनमा सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
आइएमई ट्राभल्स आइएमई ग्रुपद्वारा प्रवद्र्घित एक पुरानो कम्पनी हो । पर्यटन क्षेत्रमा विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको यस कम्पनीले सन् २०१६ मा स्थापित ओमानको पहिलो बजेट क्यारिअर सलाम एयरलाइन्सलको जीएसए लिई मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउँदै आएको छ ।




Comments are closed.