काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालद्वारा आयोजित जुत्ता, चप्पल व्यापार मेला तथा प्रदर्शनी जारी छ । राजधानी काठमाडौंको भृकुटीमण्डपमा माघ २१ गते सुरु मेला फागुन १० गतेसम्म जारी रहनेछ । भारी छुटका साथ नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बिक्री गरिएकाले मेलामा उपभोक्ता ग्राहकहरुको आकर्षण देखिएको एसोसिएसनका पूर्व अध्यक्ष तथा मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।
‘मेलाको अवसरमा २० देखि ५० प्रतिशत छुटमा स्वेदशी ब्राण्डका जुत्ता, चप्पल बिक्री भइरहेका छन्,’ उनले भने । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान उद्घोषका साथ मेला आयोजना गरिएको एसोसिएसनका अध्यक्ष कृष्णकुमार फुयाँलले बताए ।
अन्तर्राष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्नसक्ने गरी नेपाली ब्राण्डका जुत्ता, चप्पलहरु बजारमा आउँदा उपभोक्ताहरु आकर्षित हुने गरेको उनले बताए । उत्कृष्ट गुणस्तरका जुत्ता चप्पल नेपालमै उत्पादन भइरहेका छन् भन्ने सन्देश दिन पनि मेला सफल हुने आयोजकको विश्वास छ ।

मेलामा फिटराइट, ल्यान्डवाक, फस्र्टवाक÷आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ, डियर हिल, गोल्डस्टार, बोस सुज, भेनस, किम सुज, शिखर सुज, फुट स्टेप, पिजी, याम्बो सुज लगायतका ब्राण्डका जुत्ता तथा चप्पलहरु बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।
कोभिड महामारीका कारण लामो समय पछि मेला आयोजना भएकाले पनि मेला प्रति धेरैको चासो छ । भृकुटीमण्डपमा आएर मेलाको अवलोकन गर्न तथा आवश्यक जुत्ता, चप्पल भारी छुटमा खरिद गर्न एसोसिएसनले सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह गरेको छ ।




Comments are closed.