काठमाडौं । ह्वाइट लोटस मोटर्सले नेपाली बजारमा ल्याएको इलेक्ट्रिक स्कुटर पियोर इभीको ब्राण्ड एम्बेस्डरमा अनुस्का श्रेष्ठ (मिस नेपाल–२०१९) नियुक्त भएकी छन् । आइतबार एक कार्यक्रमबीच उक्त समझदारीमा सम्झौता भएको छ ।
समझदारी पत्रमा ह्वाइट लोटस मोटर्सका प्रवन्ध निर्देशक अशोक खड्की र अनुस्काले आइतबार सम्झौता गरेका छन् । पियोर इभीको ब्राण्ड एम्बेस्डरमा अनुस्कालाई नियुक्त गर्न पाउँदा खुसी लागेको खड्कीले बताए । नेपाली बजारमा इलेक्ट्रिक ब्राण्डप्रति आकर्षण बढिरहेको सन्दर्भमा अनुस्काको आबद्धताले पियोर इभीमा ग्राहकको विश्वास अझै बढ्ने उनले विश्वास व्यक्त गरे । इलेक्ट्रिक ब्राण्ड पियोर इभीसँग आबद्ध हुन पाउँदा खुसी लागेको र आफ्नो तर्फबाट ब्राण्ड प्रवद्र्धनमा सक्रिय हुने अनुस्काले बताइन् ।
ह्वाइट लोटसले हालै इप्लुटो सेभेन जि र इट्रान्स नियो नेपाली बजारमा लन्च गरेको छ । यी स्कुटरमा २२ सय वाटको मोटर र हटाउन मिल्ने ६० भी ४० एएच लिथियम आयन ब्याट्री जडान गरिएको छ । यो ब्याट्री पूर्ण चार्ज हुन ४ घण्टा लाग्छ भने प्रतिघण्टा ६० किमी गतिमा स्कुटर गुड्न सक्छ । स्कुटरको रेन्ज ११६ किमी रहेको बताइएको छ ।

इप्लुटो ७ जि को मूल्य २ लाख ४९ हजार छ भने इट्रान्स नियोको २ लाख २९ हजार छ । दुवै स्कुटरमा १० हजार बराबरको फ्रि एसेसरिज हुने कम्पनीले जनाएको छ । इलेक्ट्रिक स्कुटर चढ्दा सामान्य मानिसले इन्धनमा खर्च हुने वार्षिक रुपमा ५० हजार रुपैयाँसम्म बचत गर्न सक्छन् । यी स्कुटर पर्यावरणमैत्री पनि छन् ।

पियोर इभीको खरिदका लागि क बर्गका बैंकबाट सहज फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘नेपाली सडक र हावापानी सुहाउने गरी डिजाइन गरिएकाले नेपाली बजारमा यी स्कुटर लोकप्रिय रहनेमा हामी विश्वस्त छौं,’ खड्कीले भने । कम्पनीको शोरुम काठमाडौंको नक्साल, बबरमहल र भक्तपुरमा छ । काठमाडौं बाहिर डिलर विस्तारको क्रम जारी रहेको खड्कीले जानकारी दिए ।






Comments are closed.