झापा । अनलाइनबाट चिठ्ठा परेको बहाना बनाई लाखौँ रकम ठगी गर्ने एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरी महानगरीय अपराध महाशाखा मीनभवन काठमाडौं पठाएको छ । अर्जुनधारा नगरपालिका–९ का २९ वर्षीय पङ्कज पौडेली (विश्वकर्मा) १४ लाख रुपैयाँ नगद रकमसहित विर्तामोडबाट पक्राउ परेका हुन् ।
उनले चिठ्ठामा परेका सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्ने भन्दै विभिन्न व्यक्तिसँग बैंकको खाता नम्बर दिई पैसा असुल्दै ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । महानगरीय अपराध महाशाखामा चिठ्ठामा सामान तथा पैसा परेको भनी विभिन्न व्यक्तिलाई विकले बैंक खाताबाट रकम ठगी गरेको भनी परेको जाहेरीका आधारमा प्रहरीले विर्तामोड नगरपालिका–२ स्थित चारपानेबाट आज पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट तीन लाख ५६ हजार ७१० रुपैयाँ निजको घरको कोठाको दराजभित्रबाट दुई लाख आठ हजार २ सय रुपैयाँ र उनकै घर पछाडिको गाईग्वाली छेउमा गोबरको थुप्रोभित्रबाट लेडिज ब्यागमा लुकाएर राखेको नगद आठ लाख ३० हजार ३ सय रुपैयाँ गरी १३ लाख ९५ हजार २१५ रुपैयाँ र विभिन्न कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
उनले थप अनुसन्धानका लागि आजै उनलाई महानगरीय अपराध महाशाखा मिनभवन काठमाडौँ पठाइएको जानकारी दिए ।




Comments are closed.