उत्तरी मादीका जनतालाई पक्की मोटरेवल पुलले दिएको खुशी

कृष्ण दवाडी/कास्की । कास्कीको मादी गाउँपालिका–१ खिलाङका गोलमान गुरुङलाई काँहुखोला–दूधपोखरी सडकखण्डको विजयपुर खोलामा पक्की मोटरेवल पुल बनेर गाडी चल्दासमेत अझै सपनाजस्तै लागेको छ । पुलका लागि लामो समय प्रयत्न गरेका उनिजस्ता धेरैको मुहारमा अहिले पुल बनेर उद्घाटनसँगै खुशी छाएको छ । पोखरा–१३ र मादी–५ जोड्ने सिउँदीको मुखस्थित विजयपुर खोलामा पुल निर्माण सम्पन्न भएर सवारी साधन वारपार गर्न थालेपछि गाउँलेमा खुशीयाली छाएको हो । सोमबार भव्य कार्यक्रमसहित पुल उद्घाटन भएपछि उनीहरु थप उत्साहित भएका छन् ।

मादीका उत्तरी भेगका जनताले बर्खायाममा भोग्नुपरेको दुःख र कष्ट वर्णन गरिसाध्य छैन । गाउँमा कोही बिरामी परेर अस्पताल लैजाँदा होस् वा सामान्य अवस्थामा बजार आउँदा÷जाँदा होस् बर्खामा उर्लिएर आउने विजयपुर खोलाको भेलमा हेलिनुको विकल्प थिएन । विसं २०५५ तिर बनेको झोलुङ्गे पुलले पैदल आवतजावत केही सहज बनाए पनि नदीमा सवारी साधन वारपार हुन नसक्दा जनतालाई सास्ती थियो । बर्खा लाग्न थालेपछि गाउँलेको पोखरासँगको सम्पर्क विच्छेद हुने गरेको थियो ।

त्यसैले पनि लामो प्रयासपछि पुल बन्दा तत्कालीन बाटो समितिका अध्यक्षसमेत रहेका गुरुङलाई अझै सपनाजस्तो लागिरहेको हो । पुल निर्माणसँगै गाउँमा विकास र समृद्धिको ढोका खुलेको उनि बताउछन् । उनले भने “पुलका लागि धेरै ठाउँमा भनसुन गर्यौँ, डेलिगेशन गयौँ तर सफल भएका थिएनौँ । ढिलै भए पनि अहिले निर्माण भएकाले गाउँवासीमा खुशीको सीमा छैन, अझै सपनाजस्तो लागिरहेछ ।”

footwear zone

पोखरा महानगरपालिका र मादी गाउँपालिकाको उत्तरी सीमालाई विजयपुर खोलाले छुट्याएको छ । दुई पालिकाको सीमा रहेको नदी बर्खायाममा मादीवासीका लागि त्रास बनेर आउँथ्यो । हालको आधा गाउँपालिका वर्खायाम गाउँमै थुनिनुपर्ने बाध्यता थियो । अब भने उनीहरुले सुखका दिन महुसुस गरेको मादी–७ का वडाध्यक्ष लालबहादुर गुरुङ बताउछन् ।

“पुलका लागि तत्कालीन जिविस हुँदै सडक विभागसम्म पहल भएको थियो । सडक विभागबाट पुलको योजना परेर काम सफल हुँदा उत्साह जागेको छ । योजना पार्न लागिपर्ने गाउँका अग्रज, राजनीतिक दल, सडक विभागका तत्कालीन र वर्तमान डिभिजन प्रमुख, जनप्रतिनिधिसहित यसमा भूमिका खेल्ने धन्यवादको पात्र हुनुहुन्छ”, उनले भने ।

खोलामा पक्की पुल स्थानीयवासीको हरेक निर्वाचनमा पहिलो माग रहने गरेको थियो तर लामो समय त्यसले सार्थकता पाउन नसके पनि स्थानीय तहमा जनप्रतिनिधि आएपछि दबाब बढ्योे । विगतमा सर्भे र माटो परीक्षणमा असफल भए पनि जनप्रतिनिधि आएपछि विभिन्न विकल्पसहित पुल निर्माणको योजनालाई सफल बनाइयो । पुल बनेपछि मादी गाउँपालिकामा १२ वडामध्ये छ वडाका १० हजार बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । वडा नं १, २, ३, ५, ६ र ७ का वासिन्दाको शहर र गाउँ आवतजावतमा सहज भएको छ ।

गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ वर्षौँ अघिदेखिको पुलको सपना विपनामा परिणत हुँदा आफूहरु खुशीले भावविह्वल बनेको बताउछन्। लोकतन्त्र र सही नेतृत्वका कारणले पुलसहित मादीमा विकासको ढोका खुलेको भनाइ अध्यक्ष गुरुङको छ । उहाँले भन्नुभयो, “विजयपुर खोलामा पुल नहुँदा मादीका आधा जनसङ्ख्या बर्खाको खोलामा भारी बोकेर हिँड्नुपर्ने, शहर जान वञ्चित हुनुपर्ने बाध्यता थियो तर अब ती दिन गएका छन्, गणतन्त्र र जनप्रतिनिधि आएपछि बनेको पुल लोकतन्त्रको फल हो ।”

गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको शान्ति प्रक्रियाको उद्गम थलो मानिएको सिक्लेस प्रवेशको प्रमुखमार्ग यही हो तर सिक्लेस जान पुलकै कारण सहज थिएन । पर्यटनको गन्तव्य बनेको सिक्लेसको चर्चा शान्ति सम्झौतापछि स्वदेश तथा विदेशमा समेत थप चर्चामा छ । देशमा चलेको १० वर्ष लामो माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरणको श्रेय सिक्लेसलाई जाने गरेको छ । तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाबीच विसं २०६३ जेठ अन्तिम साता सिक्लेसमा वार्ता भएको थियो ।

सोही वार्तापछि प्रचण्डलगायत माओवादी नेतृत्व असार पहिलो साता राजधानीमा पहिलोपटक सार्वजनिक भएको र शान्ति सम्झौतापछि देशमा द्वन्द्व अन्त्य भएकाले सिक्लेसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले ‘शान्ति स्मारक’ निर्माण गरेको छ । स्मारक अनावरणका लागि विसं २०७५ मङ्सिरमा सिक्लेस आउँदा प्रचण्डले विजयपुर खोलाको सोही पुलसमेत शिलान्यास गर्नुभएको थियो । प्रचण्डबाट शिलान्यास भएकाले समेत पुल निर्धारित समयभित्रमा बनेको विश्वास स्थानीयवासीले गरेका छन् ।

पुल बनेसँगै सिक्लेसको भविष्य थप सुन्दर बनेको गाउँका अगुवा बताउँछन् । सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने गाउँपालिका अध्यक्ष गुरुङले बताए । सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ । विसं २०७५ असार २१ गते रायमाझी÷द क्याराभान जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएकामा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण गरेको थियो ।

You might also like

Comments are closed.