सुदूरपहाडमा परीक्षण उडान सफल

विनोदसिंह विष्ट/बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मंगलबार परीक्षण उडान सम्पन्न गरेको छ । सीता एयरले बैतडीको पाटन, बझाङको देवल, डोटीको दिपायल र अछामको साँझेबगर विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको हो ।

परीक्षण उडान नेपालगञ्जबाट गरिएको भए पनि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालनको तयारी भएको सीता एयर प्रालिले जनाएको छ । सो प्रालिका वरिष्ठ महादिर्नेशक घनश्याम आचार्यले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा दिने उद्देश्यले परीक्षण उडान गरिएको बताए । “परीक्षण उडानका क्रममा कुनै पनि समस्या देखिएन”, उनले भने, “परीक्षण उडान सफल भएको छ, जहाज सञ्चालनमा कुनै समस्या छैन ।”
परीक्षण उडान सफल भए पनि नियमित रुपमा हवाई सेवा दिनका लागि नागरिक उड्डयन प्राधिकरणको अनुमति चाहिने उनले बताए । वायुसेवाको तर्फबाट जहाज सञ्चालन गर्न तयार छौं । उनले भने, “प्राधिकरणको अनुमति पाउना साथ नियमित सेवा दिन्छौं, छिटोभन्दा छिटो सञ्चालन गर्छौ तर अहिले नै मिति यकिन भन्न सकिने अवस्था छैन ।” ‘‘नेपालगञ्जबाट परीक्षण उडान गरेका छौँ’’, महानिर्देशक आचार्यले भने, “नेपालगञ्ज र धनगढी दुवै ठाउँलाई आधार बनाएर नियमित उडान हुनसक्छ ।”

निकट भविष्यमै काठमाडौंँबाट नेपालगञ्ज, धनगढी र सुदूरपहाडमा हवाई सेवा दिने तयारी रहेको उनको भनाइ छ । उनले भने, “दुर्गमका जनताको पनि हवाई सेवामा पहुँच पु¥याउँछौँ ।” परीक्षण उडानमा सीता एयर प्रालिका वरिष्ठ महानिर्देशक घनश्याम आचार्य, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा प्राविधिकको टोलीको सहभागिता रहेको थियो । परीक्षण उडान सफल भएपछि सीता एयरको नियमित उडान हुने भन्दै स्थानीय वासिन्दा खुशी भएको बैतडीको पाटनका स्थानीयवासी बसन्त विष्टले जानकारी दिए ।

You might also like

Comments are closed.