भादगाउँ । भक्तपुर नगरपालिकाले साविक मापदण्डानुसार निर्माण भएका घरको नक्शापास र सूचीकरणको प्रक्रिया शुरु गर्ने भएको छ । नगरपालिकाको चालु आठौँ नगरसभाको शनिबारको बैठकले ‘साविक मापदण्डअनुसार निर्माण भएका घर÷भवनको नक्शापास र सूचीकरणसम्बन्धी कार्यविधि–२०७७’ पारित गरेसँगै त्यस्ता घरको नक्शापास र सूचीकरणको प्रक्रिया शुरु हुन लागेको हो ।
उक्त कार्यविधिको उद्देश्य भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनुभन्दा अगाडि नक्शापास नगरी साविक मापदण्डअनुरुप भएको र मापदण्डअनुरुप नभएका वा पास भएको नक्शाभन्दा हेरफेर गरी साविक मापदण्डानुसार घर तथा भवन आदि निर्माण गरेको र मापदण्डानुसार नभएका घरहरूको नियमित एवं नक्शापास र सूचीकृत गर्ने रहेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।
सो अवसरमा उनले नगरपालिकाले प्रजातान्त्रिक अभ्यासमार्फत नगरसभा सञ्चालन गरिरहेको र सभामार्फत संविधानले दिएको अधिकारलाई व्यवस्थित तरिकाले उपयोग गर्ने प्रयास गरिरहेको बताए । नपाले सञ्चालन गरिरहेको विभिन्न सीपमूलक तालिमले नगरवासीको व्यक्तित्व विकास, कार्यक्षमताको विकास गर्दै आएको बताउँदै देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा परेका उजुरीमाथि अध्ययन गरी जग्गाधनीसँग छलफल अगाडि बढाउन कार्यदल गठन गरिसकेको उनले जानकारी दिए ।

कार्यविधिमाथि सभासद सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर मातां र गोविन्द दुवालले विभिन्न सुझाव दिएका थिएभने छलफलमा उठेका विषयमा विधायन समितिका संयोजक हरिराम सुवालले जवाफ दिएका थिए । नगरसभाको विशेष समयमा सभासद् सूर्यप्रसाद श्रेष्ठ, ज्ञानकुमार मगजु, बलराम न्हिसुतु, शिवप्रसाद बाला, राजेन्द्र माक, श्यामसुन्दर माक, मङ्गललक्ष्मी शाही, जितेन्द्र मुनंकर्मी, सिद्धिराम अवाल र गोविन्द दुवालले देशको समसामयिक राजनीति, नगरवासीको समस्या र नगरपालिकाले जनताको पक्षमा गर्नुपर्ने कार्यलगायतका विषयमा आ–आफ्नो विचार राखेका थिए ।
नेपालमा भारतीय अतिक्रमण दिनानुदिन बढिरहेको हुँदा नगरसभाबाट भारतीय विस्तारवादविरुद्ध विरोध प्रस्ताव पेश गरी पारित गर्नुपर्ने, नगरवासीलाई लक्ष्य गरी दिइरहेको सीपमूलक तालिम र खेलकूद प्रशिक्षणको सदुपयोगबारे अनुगमन गर्नुपर्ने, नगरमा दिगो र स्तरीय सडक बत्ती व्यवस्थापन गर्नुपर्ने, घरबाटो सिफारिस दस्तुरमा परिमार्जन गर्नुपर्ने, पर्ति जग्गा मिचेर घर बनाउनेको नक्शापास रोक्नुपर्ने, नपाको पहलमा चिस्यान केन्द्र बनाउनुपर्ने, नपाले सञ्चालन गर्ने आदर निकेतन यथाशक्य छिटो बनाउनुपर्ने, तलेजुभित्रको चोकमा अवस्थित पौभा चित्र संरक्षण गर्नुपर्ने, तारा माविमा भवन अभावका कारण दैनिक पठनपाठनमा समस्या भइरहेकोतर्फ उनिहरुले नपाको ध्यानाकर्षण गराए ।




Comments are closed.