घट्यो सुन्तलाको उत्पादन

चितवन । पहाडी क्षेत्रमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष ९३ दशमलब ५३ मेट्रिक टन सुन्तला कम उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । यसवर्ष जिल्लामा एक हजार ८१९ दशमलब ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष सोही क्षेत्रफलमा एक हजार ९१० दशमलब ४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लामा यस वर्ष ईच्छाकामना गाउँपालिकामा सुन्तलाको उत्पादन राम्रो भएको भए पनि भरतपुर महानगरपालिकामा भने अपेक्षाकृत रुपमा उत्पादन नभएको केन्द्रकी सूचना अधिकारी सुरुची त्रिपाठीले जानकारी दिइन् ।

उनका अनुसार भरतपुर महानगरपालिका–२९ कविलास क्षेत्रमा लगाइएको सुन्तलालाई असिनाले असर गरेकाले उत्पादनमा कमी आएको हो । उनले भनिन्, “यस वर्ष कविलास क्षेत्रमा सुन्तला उत्पादन हुन सकेन । असिना पानी र रोगको सङ्क्रमणले उत्पादन घटायो ।”

footwear zone

असिना पानीसँगै सुन्तलाको बोटमा जरो कुहिने, टुप्पा मर्नेलगायतका रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । कार्यालयका प्रमुख राजन ढकालले सुन्तलामा लाग्ने रोगका विषयमा कृषकलाई जानकारी गराउँदा पनि रोकथामका विधिको प्रयोग कम भएका कारण उत्पादनमा कमी आएको बताइन् । सुन्तलाको उत्पादन बढाउनका लागि कृषकले मलखात, गोडमेललगायतमा ध्यान दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

सुन्तलाको गोलमेल, झार र कीराको व्यवस्थापन जस्ता विषयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भनिन्, “सुन्तला फल्ने बेलामा मात्रै हेरचाह गरेर पुग्दैन, बाह्रैमहिना सुन्तला खेतीमा ध्यान दिनुपर्छ ।” उनका अनुसार हिउँदको समयमा सिंचाइलगायतका विषयमा पनि ध्यान दिन सके उत्पादन बढाउन सकिन्छ ।जिल्लालाई तराईको जिल्ला भनेर चिनिने भए पनि यहाँको पहाडी क्षेत्रमा सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ ।

भरतपुर महानगरपालिका–२९ र इच्छाकामना गाउँपालिकामा सुन्तलाखेती गरिँदै आएको छ । कालिका नगरपालिका र राप्ती नगरपालिकाका पहाडी क्षेत्र पनि सुन्तलाका लागि उपयुक्त मानिन्छ । बिहानदेखि बेलुकासम्म घामको किरण पुग्ने पूर्व फर्किएको ठाउँमा फलेको सुन्तला स्वादिष्ट मानिन्छ । बजार क्षेत्रमा जिल्लाकै सुन्तलालाई पनि गोरखाको मनकामनाको सुन्तला भन्दै बिक्री गर्ने गरेको पाइन्छ ।

You might also like

Comments are closed.