चितवन । आन्तरिक राजश्व विभाग, राजश्व कार्यालय भरतपुर र कावासोतीको संयुक्त आयोजनामा कर प्रणालीमा भएका सुधार एवं आर्थिक ऐन २०७७ ले प्रदान गरेको कर छुट तथा सुविधाका विषयमा यहाँका करदातालाई आइतबारजानकारी गराइएको छ । यहाँ आयोजना गरिएको कार्यक्रममा कोरोना कहरका कारण सरकारले कर तिर्नका लागि फागुन मसान्तसम्मको समय तोकेको र सो अवधिमा कर तिर्दा पाइने छुटका विषयमा करदातालाई जानकारी गराइएको हो ।
कोरोना सङ्क्रमणका कारण कर सङ्कलनमा समस्या आउन नदिनका लागि राज्यले व्यवसाय हेरी २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिइएको थियो । करदाताले यसको भरपुर उपभोग गर्न विभागले आग्रह गरेको छ । विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले साना व्यवसायीलाई लक्षित गरेर कार्यक्रम गरिएको जानकारी दिए । अहिलेको समयमा ‘अण्डर विलिङ’को समस्यामा केही सुधार आएको भए पनि समाधान नहुँदा समस्या रहेको उहाँको भनाइ थियो । अर्का उपमहानिर्देशक गजेन्द्र ठाकुरले लामो समय कर नतिरेका व्यवसायीलाई छुटको उपभोग गर्न आग्रह गरे ।
एउटै व्यवसायको सञ्चालक फेरिँदै जाँदा कर सङ्कलनमा समस्या देखिने गरेको उनले बताए । कार्यक्रममा बोल्दै व्यवसायीले अण्डर बिलिङ र ओभर बिलिङ मुख्य समस्याको रुपमा रहेको बताएका थिए । उनीहरुले अहिले भन्सारका कर्मचारीका कारण हुण्डी व्यवसायी फस्टाउँदा करको दायरामा आएका व्यवसायी मारमा पर्ने गरेको बताए । राजश्व विभागले कर प्रणालीमा एकद्धार प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा व्यवसायी मारमा परेको उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बताए । राजश्व विभागले लकडाउनको समयको पनि जरिवाना लिएको उनले गुनासो गरे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल, सर्जिकल व्यवसायी सङ्घका अध्यक्ष अर्जुन रानाभाट, किराना व्यवसायी सङ्घका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ, मध्यबिन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ पराजुली, उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष कृष्ण गौतमलगायतले बोलेका थिए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख घनश्याम पन्थीले करका विषयमा देखिएका समस्या र समाधानका उपायका बारेमा जानकारी गराएका थिए ।




Comments are closed.