घाँस बेचेर मनग्य आम्दानी गर्दै खनाल

सानेबहादुर नेपाली/ तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–ं १ गुणादीका बामदेव खनालले घाँस बेचेर नै मनग्य आम्दानी गर्दै आएका छन् । खनाल नामसँगै दाम कमाउँन थालेपछि यतिखेर उनी घाँसी नामले परिचित छन् ।

भानुभक्त आचार्यलाई आदिकविको स्थान र सम्मानमा घाँसीको प्रेरणाले पु¥याएको थियो । उनी तनहुँकै थिए । ‘राष्ट्रिय घाँस गुरु’ पुरस्कारबाट पुरस्कृत खनालले २३ वर्षदेखि घाँस खेती गर्दै आएका छन् । पछिल्ला वर्षमा धेरैले घाँसी बा भनेर बोलाउँदा आफूलाई निकै खुशी लाग्ने गरेको उनले बताए । घाँस बेचेर राम्रो आम्दानी गरेका उनले यसै वर्ष असार र साउन महिनामा रु २० लाख बराबरको घाँसको बेर्ना बिक्री गरेको सुनाए ।

पाँच वर्षयता यस पटक धेरै कमाइ भएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमणले कृषि पेशाप्रति मानिसको चासो बढेकाले घाँसको माग बढेको छ । “भूकम्प गएको वर्ष २०७२ सालमा पनि राम्रै कमाएको थिएँ, त्यसपछि यसैपाली हो कमाइ भएको”, खनालले भने, “वार्षिक घाँस बेचेर १२ देखि १५ लाख रुपैयाँ कमाउँदै आएको छु ।”

footwear zone

करीब एक सय रोपनी क्षेत्रफलमा उन्नत जातको घाँस खेती गर्दै आएको बताउँदै उनले ६० रोपनी आफ्नै र ४० रोपनी जग्गा भाँडामा लिएका छन् । खनालले बडहर, राइखनियो, टाँकी, कोइरालो, बकाइनो, पाखुरी, चिउरीलगायतको डाले घाँस तथा सुपर नेपियर, सियोफोर, सम्बा सेटारिया, पास पालम, मुलाटो र बलामेलगायत उन्नत र भूइँ घाँसका बिरुवा बिक्री गर्दै आएका छन् । पछिल्लो समय सुपर नेपियरको बिरुवा माग धेरै भएकाले अब त्यसतर्फ बढी चासो देखिएको छ ।

पन्ध्र फिटसम्म अग्लो हुने, पात मोटो हुने र नढल्ने तथा सुख्यायाममा पनि धेरै समयसम्म हरियो हुने भएकोले माग धेरै आएको बताइएको छ । दुई आँख्लाको पाँच रुपैयाँका दरले घाँसको बिरुवा बिक्री हुने गर्छ । परम्परागत तरिकाले निर्वाहमुखी भैँसीपालन गर्ने साधारण किसान खनाललाई २३ वर्ष अघिसम्म बिहान र बेलुका हातमुख जोड्न पनि धौधौ थियो । भैँसी पाल्न कृषि विकास बैंकबाट लिएको क्रृण तिर्न नसक्दा धितोमा राखेको जग्गा लिलाम भएको तितो अनुभव पनि खनालसँग छ ।

घाँसमा पैसा फलाउने नयाँ घाँसी खनालले घाँसकै बेर्ना बेचेर लिलामीमा गएको जग्गा फिर्ता गरेका छन् । घाँसकै कमाइले थप जग्गासमेत किनेर आफ्नो कर्मको क्षेत्र झनै फराकिलो बनाएका छन् । ऋण तिर्नको लागि रु ८० हजारमा बेचेको जग्गा कमाएर पछि पन्ध्र लाखमा किनेको उनले बताए ।

उनको नर्सरीमा उत्पादन गरिएको बेर्ना हिमाली भेग बाहेक सबै जिल्लामा पैmलिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । खनालको नर्सरी र घाँस खेतीको अवलोकन गरेर थुप्रै व्यक्ति पशुपालन तथा घाँस खेतीमा लाग्ने प्रेरणा मिलेको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।

यस वर्ष तनहुँका विभिन्न स्थानसँगै छिमेकी कास्की, लमजुङ, गोरखा, स्याङजा, चितवन, धादिङ, नवलपुर, पर्वत, म्याग्दीलगायत जिल्लाका कृषकले लगेको खनालले बताए । अछाम, डडेलधुरा, धनकुटा, इलाम, धरान, पाँचथर, झापा, दैलेख, डोटी, सुर्खेत, कञ्चनपुर लगायतका जिल्लाका कृषक पनि घाँसका बिरुवा लिन आउने गरेको छन् ।

विसं २०५४ साल जेठमा तत्कालीन पशुसेवा कार्यालयले सिफारिस गरेपछि पोखरामा सात दिने घाँसखेती सम्बन्धी तालीम लिने मौका मिलेपछि खेती शुरु गरेको खनालले बताए । तालीमबाट फर्कदा घरमा पालेको गाईलाई खुवाउनलाई नेपियर बिरुवा राम्रो भयो, अर्को वर्ष नेपियरको बेर्ना बेचेर राम्रै कमाइ भएपछि पैसा त यता पो रै’छ भन्ने बुझेर आकर्षित भएको उनको भनाइ छ ।
‘‘घाँस बोक्ने गाडी किनेको छु, देशभर बिक्री गर्छु तीन जनालाई रोजगारी पनि भएको छ’’, कृषक खनालले अनुभव सुनाए । कामधेनु गौ फार्म दर्ता गरी घाँसको लागि मल पु¥याउन उन्नत जातका डेढदर्जन बढी गाईभैँसी पनि पाल्नु भएको छ खनालले । ती गाईभैँसीबाट मासिक रु दुई लाख आम्दानी हुने गरेको खनालले जानकारी दिए । यी गाईभैँसीको मलले सय रोपनी जग्गामा पोसिला घाँस मौलाएका छन् ।

मललाई पाइप लाइनबाट सिधैँ घाँसबारीमा पुग्ने व्यवस्था मिलाइएकाले गोठ पनि सफा छ । उनले भने,“पशुचौपायलाई खुवाउने घाँसलाई पैसासँग साटिरहेको छु , मेहनेत गरे युवा रोजगारीको लागि विदेश जानुपर्दैन ।” पहाडी भूगोल र चरन प्रशस्त भएको ठाउँमा बाख्रा पाल्दा फाइदा हुन्छ । बेँसीमा भैँसीगाई पाल्दा फाइदा हुन्छ । कृषक खनालले भने, “भूगोल अनुसार जे ठिक हुन्छ त्यही पालन गर्न सकिन्छ खेती पनि मौसम अनुकूलका लगाउनुपर्छ धन कमाउन विदेश जानुपर्दैन ।”

घाँससँगै तरकारी खेती गर्नुभएका खनालले तरकारी भन्दा घाँसबाट राम्रो कमाइ हुन थालेपछि घाँसलाई प्राथमिकता दिएको बताए । घाँसबाट फाइदा राम्रो हुन थालेपछि पाखोमा मात्रै नभइ खेतमा पनि खनालले नर्सरी बनाएका छन् । धान रोपेको भए दुई महिना छाक टार्न मुस्किल हुने गरेको बताउँदै उनले घाँसबाट वार्षिक रु छ लाख आम्दानी भएको जानकारी दिए ।

घाँसखेती गर्दा अन्नबाली जस्तो दुःख नहुने र आम्दानी पनि धेरै हुने उनको अनुभव छ । गोडमेल र सिँचाइ कम भए पुग्ने र एकपटक रोपेपछि मल र केही चिस्यान दिने हो भने घाँस फष्टाउने उनले जानकारी दिए ।

खनाल जिल्लाकै नमूना कृषकको रुपमा परिचित छन् । उनलाई विभिन्न सरकारी तथा गैरसरकारी सस्थाले सम्मान गरिसकेका छन् भने साविक पशुपक्षी मन्त्रालयले ‘राष्ट्रिय घाँस गुरु’ पुरस्कारबाट पुरस्कृत गरिसकेको छ । साविक जिल्ला विकास समितिले उत्कृष्ट कृषक र साविक जिल्ला कृषि विकास कार्यालयबाट खनाललाई राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
उनको फर्ममा दैनिक विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय विभिन्न विद्यालयका विद्यार्थी घुम्न आउने गरेका छन् । विशेष गरेर कृषि र पशु विज्ञानका विद्यार्थीका लागि उनको फर्म आकर्षक गन्तव्य बनेको छ । खनालको घाँस खेतीलाई परिवारका सदस्यले साथ दिएका छन् । कान्छो छोरो विनोद वैदेशिक रोजगारी छोडेर उनलाई सहयोग गर्ने गरेका छन् । भ्रमणमा आउने टोलीसँग न्यूनतम शुल्क लिएर मात्रै आफ्नो फार्ममा प्रवेश गर्न दिने व्यवस्था कृषक खनालले गर्दै आएका छन् ।

You might also like

Comments are closed.