बतास समूहले मानुङकोटमा ४ अर्ब लगानी गर्ने

तनहुँ । सुविधा खोज्दै मानुङकोटका बासिन्दा बसाइ झरेपछि सुनसान बन्दै गएको अवस्थामा पछिल्लो समय पुनः चहलपहल बढ्न थालेको छ । तनहुँको व्यास नगरपालिका–५ मानुङकोट आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्न थालेपछि यस ठाउँको मुहार फेरिन लागेको हो ।

दैनिक सयौँ पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीले ठूलो रकम लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्वीमीङ पुलसहित रिसोर्ट बनाउन निजीस्तरबाट अर्बौ लगानी गर्न चासो देखाउन थालेका छन् । चार अर्ब रुपैयाँ को एक प्रस्ताव स्वीकृत भएको र विस्तृत परियोजना प्रतिवेदन आउने तयारीमा रहेको व्यास नगर पालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिए । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा व्यावसायिक घराना बतास समूहले मानुङकोटमा चार अर्ब रुपैयाँको लगानी गर्न तयार रहेको भनी प्रस्ताव पेश गरेकोमा स्वीकृत गरिएको उनले बताए ।

लगानीकर्तालाई आकर्षित गर्न सार्वजनिक निजी साझेदारी ऐन पारित गरी सहज वातावरण बनाइएको नगरपालिकाले जनाएको छ । यस ऐनको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी मुलुकको बृहत सामाजिक तथा आर्थिक विकास गर्न सहज भएको छ । नगरप्रमुख न्यौपानेले भने, “सर्वसाधारणलाई भरपर्दो र सर्वसुलभ रुपमा सेवा सुविधा उपलब्ध गराउन आवश्यक व्यवस्था गर्न ऐन निर्माण गरिएको हो ।”

footwear zone

कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डिपीआर) का लागि स्वीकृत प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले पाटनबाट मानुङकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र ४० रोपनी जमीन भाडामा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव पेश गरेको बताइएको छ । प्रस्ताव निश्चित अवधिको लागि सम्झौता गर्ने र वार्षिक रुपमा सार्वजानिक जग्गाको भाडा र कर लिने व्यवस्था मिलाइएको नगरप्रमुख न्यौपानेले बताए ।

कोरोना भाइरसको सङ्क्रमणले देशका अन्य ठाउँमा चहलपहल कम भए पनि यहाँ भने विगतभन्दा बढी आन्तरिक पर्यटक भित्रिएका छन् । यहाँको मुख्य दृश्य सूर्योदय र सूर्यास्त छ । त्यसैगरी मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायत अधिकांश हिमशृङ्खला देखिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई धार्मिक प्रसङ्गसँग पनि जोडिएको छ ।

परापूर्वकालमा महर्षी व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइ दिएको प्रसङ्ग उल्लेख छ । उक्त स्थानबाट कास्की, गोरखा, सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम र निर्माणस्थल लगायतको मनोरम ठाउँ देखिन्छ ।

मानुङकोटको चर्चा जताततै हुन थालेपछि पर्यटन व्यवसायीको ध्यान तानिएकाले ठूला लगानीकर्ता भित्रिन लागेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । सामाजिक सञ्जालमा मानुङकोटका सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ति देखिन थालेका छन् । भिडियो बनाउनेको जमात पनि बाक्लिएकोले पर्यटन व्यवसायी ठूलो लगानी गर्न आतुर देखिएका छन् ।

पर्यटन प्रवद्र्धन गर्न खेलकूद

व्यास नगरपालिका कार्यालयले खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मानुङकोटमा वर्षेनी म्याराथनको आयोजना गर्दै आएको छ ।

शहीद दिवसको दिनमा मानुङकोटबाट पुलिमराङसम्म म्याराथन दौड प्रतियोगिता गर्दै आएको हो । त्यसैगरी अन्तरराष्ट्रिय नारी दिवसको दिन दमौलीको व्यासगुफाबाट तनहुँसुरसम्मको दूरीमा महिला खुल्ला हाफ म्याराथन यसै वर्षदेखि शुरु गरिसकेको छ । खेलकूदको संरक्षण गर्दै धार्मिक, ऐतिहासिक र सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास गर्न नगरपालिकाले योजना बनाएर अघि बढ्न थालेको छ ।

You might also like

Comments are closed.