दमौली । पृथ्वीराजमार्गको तनहुँको दमौली बजारस्थित सडकखण्डमा सोमबार दिउँसो सर्वसाधारण जथाभावी बाटो काटिरहेका थिए । बजार क्षेत्रमा ठाउँ ठाउँमा जेब्राक्रस भएपनि जेब्राक्रस भएको ठाउँभन्दा अन्यत्रैबाट मानिस ओहोरदोहोर गरिरहेका थिए । यत्तिकैमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल आइपुगे र सर्वसाधारणलाई भन्न थाले, “जथाभावी बाटो नकाटिनुहोला दुर्घटना हुन सक्छ, जेब्राक्रसबाट मात्रै बाटो काट्नु है ।”
प्रहरी उपरीक्षक पौडेलको आग्रहपछि सर्वसाधारण जेब्राक्रस भएको ठाउँबाट बाटो वारपार गर्न थाले । प्रहरी उपरीक्षक पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्र हमाललगायत प्रहरीले एक घण्टाभन्दा बढी सडकमै उभिएर जेब्राक्रसबाट बाटो वारपार गर्न सर्वसाधारणलाई सिकाउन थाले ।
जेब्राक्रस भएका ठाउँबाट बाटो नकाटी जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधारणलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउन शुरु गरेको छ । “सर्वसाधारणलाई सचेत गराउनका लागि यो अभियान शुरु गरेका हौँ,” प्रहरी उपरीक्षक पौडेलले भने, “कतिपयलाई यो विषय थाहा नहँुन पनि सक्छ ।”

शहरी क्षेत्रमा पैदलयात्रीको सङ्ख्या बढी हुने र व्यवस्थित आवतजावत नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एक हप्तासम्म सर्वसाधारणलाई सचेत गराइने पौडेलले जानकारी दिए। “दिनको दुई घण्टाभन्दा बढी यो अभियान सञ्चालन हुन्छ, यसले गर्दा बाटो काट्ने महानुभावलाई मात्रै होइन अन्य सबैलाई पनि जेब्राक्रसबाट मात्र बाटो काट्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुन्छ,” उनले भने। प्रहरी उपरीक्षक पौडेलका अनुसार यो अभियानका क्रममा जेब्राक्रसबाट सर्वसाधारणले बाटो काट्दा सवारी रोक्नुपर्छ भनेर पनि सवारी चालकलाई सिकाइनेछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हमालले दमौलीमा मात्र नभई अन्य शहरी क्षेत्रमा पनि यस अभियानलाई विस्तार गरिने जानकारी दिए । दमौलीमा १२ ठाउँमा जेब्राक्रसको व्यवस्था गरिएको छ भने अन्य स्थानीय तहमा पनि सम्बन्धित पालिकाको सहयोगमा जेब्राक्रसको व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाइएको छ ।




Comments are closed.